स्थानीयवासीको पहलमा आवासीय विद्यालय निर्माण

Post Thumbnail

साउन २५,काठमाडौँ । विद्यार्थीमा पढाइप्रति रुचि बढाउन र शिक्षामा गुणस्तरीय सुधार ल्याउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका–२ मान्द्रेढुंगास्थित हिमालयन आधारभूत विद्यालयलाई आवासीय बनाइएको छ ।

स्थानीयवासीले देउसीभैलो खेलेर जम्मा पारेको रकम तथा प्रवासी नेपालीबाट प्राप्त आर्थिक सहयोगमा विद्यालयमै छात्रावास सञ्चालनमा ल्याइएपछि बिहान बेलुकीको समय त्यहाँ रहेका विद्यार्थी पढाइसँगै अतिरिक्त क्रियाकलापमा समेत संलग्न हुँदै आएकाले अध्ययन–अध्यापनमा सुधार आएको प्रअ रामप्रसाद तिवारीले बताए ।

आवासीय रूपमा सञ्चालन हुने जिल्लाकै पहिलो यस विद्यालयमा कक्षा ५ सम्म पढाइ हुँदै आएको र हाल उक्त विद्यालयमा ३० बालबालिका अध्ययनरत छन् । छ शिक्षक कार्यरत सो विद्यालयमा तीन निजी स्रोत र तीन सरकारी दरबन्दीका छन् । सबै कक्षा कोठामा शैक्षिक सामग्रीको प्रदर्शनबाटै पढाइने व्यवस्था मिलाइएको छ ।

आवासीय विद्यालय सञ्चालन गर्न अभिभावकले आलोपालो गरेर खाद्यान्न र तरकारी उपलब्ध गराउँछन् । शिक्षकको अतिरिक्त समयको भत्ता र व्यवस्थापन खर्चका लागि गत वर्ष रु एक लाख ९० हजार जुटाइएको थियो ।

आवासीय विद्यालयको निरन्तरता र पूर्वाधार विस्तारका लागि स्थानीय तह र प्रवासीसँग पहल थालेको गाउँ कार्यपालिकास्थित सामाजिक विकास समितिका संयोजकसमेत रहनुभएका वडाध्यक्ष ओमप्रकाश फगामीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस