मप्रि लिगमा सागर पुनको शतक, सर्वाधिक रन बनाउनेको शीर्षस्थानमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ श्रावण २५, शुक्रबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २५,काठमाडौँ । सागर पुनको टोली क्वालालम्पुर मलेसिया प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा क्वालालम्पुरले सिलाङगोरलाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको क्वालालम्पुरले ओपनर सागर पुनको शतकीय योगदानको सहयोगाम ४ विकेट गुमाएर ३०५ रनको विशाल योगफल बनाएको थियो । ४२.५ ओभरमा दोस्रो विकेटका रुपमा आउट हुनुअघि सागरले ११८ बल खेलेर १०० रन बनाएका थिए ।

उनले पहिलो विकेटका लागि सइफुल्लाह मलिकसँग मिलेर १२४ रनको शतकीय साझेदारी गरे ।

मलिक ६६ रनमा आउट भएपछि आएका कप्तान अहमद फइजसँग मिलेर उनले दोस्रो विकेटका लागि १२० रनको साझेदारी गरेका थिए ।

कप्तान फइजले ९० रन बनाए । क्वालालम्पुरबाटै खेलिरहेका अर्का नेपाली खेलाडी आसिफ शेख २० रनमा अविजित रहे ।

प्रतियोगितामा सागर पुनको यो दोस्रो शतक हो । उनले प्रतियोगितामा ९ खेलमा ५५ को औषतमा ४४२ रन बढुलेका छन् ।

उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा शीर्ष स्थानमा छन् । प्रतियोगितामा उनले २ शतक र १ अर्धशतक प्रहार गरेका थिए ।

बलिङतर्फ पनि उनले ८ इनिङमा ९ विकेट लिएका छन् ।

३०६ रनको लक्ष्य पछ्याएको सेलाङगोरले ५० ओभर खेलेर ७ विकेटको क्षतिमा १८३ रनमात्र जोड्न सकेपछि क्वालालम्पुरको सहज जित सम्भव भएको हो ।

सेलाङगोरका लागि कप्तान शंकर सतिशले ३५ तथा दभेन्द्रन मोगानले अविजित ५७ रन बनाउनुबाहेक अन्यले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ क्वालालम्पुरका शेयद अजिजले ३ विकेट लिँदा नेभिल लियानागेले २ विकेट लिए । सागर पुनले किफायती बलिङ गरे पनि विकेट लिन सकेनन् । उनले ४ ओभर बलिङ गरी १ मेडन राख्दै १० रन खर्चिएका थिए ।

उपाधिका लागि क्वालालम्पुरले शनिबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग आइतबार खेल्नेछ । दोस्रो सेमिफाइनलमा मलेसियाली आर्मी र केवाङसान युनिभर्सिटी आमने सामने हुँदैछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस