नेपाल–भारत सीमामा थप कडाइ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ चैत्र २८, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २८, काठमाडौँ । नेपाल सरकारले भारतसँगको सीमा खुला भएका कारण कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौ सयभन्दा बढी सीमा नाकामा कडाइ गर्न निर्देशन दिएको छ । त्यस्तै लकडाउन पनि केही समय लम्बिन सक्ने गृह मन्त्रालयले सङ्केत गरेको छ । भारत–नेपाल बीचको सीमा खुला छ । खुला सीमाको ९२५ स्थानमा सशस्त्र प्रहरीसहित ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मन्त्रालयका उच्च अधिकारीका अनुसार सीमा नाका अनुगमन तथा आवतजावतमा कडाइ गर्न सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने तयारी भएको छ । सीमा अनुगमन चौकी बीओपी सुरक्षा सशस्त्र प्रहरीको जिम्मेवारी भएकाले सशस्त्र प्रहरी बलको पाँच हजार जनशक्ति स्थलगत रूपमा खटिएको छ ।

नेपालको पूर्व–पश्चिम र दक्षिण गरी २६ जिल्ला भारतसँग जोडिएका छन् । तीमध्ये धेरै जिल्लामा स्थानीय बासिन्दाको वारि गाउँ छ भने पारिपट्टि बारी छ । त्यस्तै पारिपट्टि गाउँ वारि खेतबारी रहेको छ । तराईका केही जिल्ला र सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, बैतडी र दार्चुलामा अनौपचारिक बाटो प्रयोग भएको पाइएको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले भारतमा रहेका नेपाली लुकिछिपी अनौपचारिक बाटो प्रयोग गरी आउन थालेपछि थप कडाइ गरिएको बताए । केही दिनअघि बैतडीमा अनौपचारिक बाटो प्रयोग गरी आएका १३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै बुधबार अनौपचारिक बाटो प्रयोग गरी दार्चुलामा प्रवेश गरेका ३३ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरमा पनि कृष्णपुर नयाँबस्ती र दोधारा चाँदनी लगायतका सीमाबाट अवैध प्रवेश भएपछि २० गतेबाट थप कडाइ गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस