दक्षिण कोरियाका नेपालीले पठाए कोरोना परिक्षण गर्ने ४ हजार किट

Post Thumbnail

बबिता ओली क्षेत्री                           

चैत्र २८,द.कोरिया । कोरोनाविरुद्धको अभियानका लागि लागि दक्षिण कोरियाका नेपालीहरुले नेपाललाई ४ हजार कोरोना टेष्टिङ किटसहित ८० लाखभन्दा बढीको औषधिजन्य सामग्री पठाएका छन् । सामान शुक्रबारै काठमाडौं पुग्दैछ ।

कोरोना भाइरसबाट विश्व त्रसित भइरहेका बेला दक्षिण कोरियामा रहेका नेपालीले नेपालमा संक्रमण देखा पर्नुपूर्व नै सम्भावित जोखिमलाई ध्यानमा राखेर ‘एक व्यक्ति, एक हेल्थ किट अभियान’ सुरु गरेका थिए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको संयोजन तथा स्वतन्त्र अभियन्ताहरुको सहकार्यमा अभियान शुरु गरिएको थियो ।

अभियान शुरु गरेको ४ दिनमै १४ करोड २६ लाख ३७ हजार ७७९ वोन अर्थात १ करोड ४० लाख ७९ हजार ७७५ रुपैयाँ संकलन भएको थियो ।

मातृभूमिमा परेको विपतको घडीमा सहभागी भई प्रतिव्यक्ति २० हजार वोन बराबरको किट खरिद गरी सहयोग गर्न कोरियावासी नेपालीहरुलाई एनआरएनएले आग्रह गरेको उपाध्यक्ष यदु लामिछानेले बताए ।

कोरियामा उत्पादित किटले कोरोना लागे/नलागेको तीन घण्टामा नतिजा दिन्छ । यसको मूल्य प्रतिकिट २० डलर पर्छ ।

किटका लागि कोरियामा रहेको सम्वन्धित कम्पनीसँग सम्झौता भएलगत्तै किट खरिद गर्न नेपालीहरु सक्रिय भएर लागि परेका थिए ।

नेपाल सरकारलाई कोरोना विरुद्धको संघर्षमा सहयोग पुर्‍याउन केही सामग्री औपचारिकरुपमा दक्षिण कोरियाका कार्यवाहक नेपाली राजदुत रामसिंह थापालाई विहीबार हस्तान्तरण गरिएको छ ।

अभियानबाट संकलित रकममध्ये अहिले पहिलो चरणमा ४ हजार किट र ५ सय थान हाइ सेन्सेटिभ कोभिड किट्स ९एचपीपीई० सेट कोरियन एअरलाइन्सको विमान चाटर्ड गरेर शुक्रबार दिउँसो ३ः३० बजे नेपाल आइपुग्ने दूताबास स्रोतले बताएको छ ।

अभियान समाप्त भएको केही दिनमै उपकरण नेपाल पठाउने भनिएता पनि नेपाल–कोरिया हवाइ मार्ग बन्द भएका कारण केही समय ढिलो भएको हो ।

त्यस्तै, दोस्रो चरणमा अन्य अत्यावश्यक सामग्री तथा उपकरण पठाउने तयारी रहेको पनि एनआरएनए महासचिव विमल सुवेदीले जानकारी दिए ।

दोस्रो चरणको सहयोग चीनबाट नेपाल जाने सामग्री नेपाल सरकारबाट हुने चाटर्ड विमानको अभावमा ग्वाङझाउ स्थित नेपाली नियोगमा रहेको र अनुकूलता अनुसार नेपाल पठाइने एनआरएनएले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस