२४ घण्टामा ६३० जनाको कोरोना परीक्षण, ३५ सय परीक्षण पुग्दा थपिएनन् नयाँ संक्रमित !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २८, शुक्रबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

चैत्र २८, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको परीक्षणको दायरा बढाएको छ । उपत्यका सहित ११ स्थानमा कोरोनाको परीक्षण सुरु भएसँगै दायरा बढेको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ४ सय १ र बाहिर २ सय २९ गरी ६ सय ३० जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा नयाँ संक्रमित भेटिएको छैन । यो सँगै नेपालमा कोरोनाको आशंकामा परीक्षण भएका नमूनाको संख्या ३ हजार ५ सय २४ पुगेको छ। अहिले पनि ८ सय बढीको नमूना परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । डा देवकोटाका अनुसार उपत्यका भित्र १५ र बाहिर १ सय १० गरी १ सय २५ जना आईसोलेसनमा भर्ना भई उपचार भइरहेको छ । ८ हजार ६ सय ६० जना क्वारेन्टाइनमा छन् ।

कैलालीमा ३ सय ३९, कञ्चनपुरमा १ सय ३७, कपिलवस्तुमा २१ र बागलुङमा १९ जनाको नमूना परीक्षण भएका छन् । परीक्षण भएका सबै रिपोर्ट नेगेटिभ आएको प्रवक्ता देवकोटाले बताए । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा शुक्रबारदेखि पिसिआरबाट नमूना परीक्षण सुरु भएसँगै परीक्षण हुने स्थान ११ पुगेको हो । अन्य जिल्लामा पनि पिसिआर जडान कार्य भइरहेको मन्त्रालयले जनाएको छ । डेल्धुराबाट १ सय ९९, बैतडीबाट ४ सय २५ र कर्णालीबाट २५ गरी बिहिबार संकलन भएका ७ सय ९ वटा नमूना हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस