जेठ ८,काठमाडौँ । प्रहरीको सर्वाधिक खोजीमा रहेका ३३ किलो सुन तस्करीका मुख्य नाईके भनिएका चूडामणि उप्रेती उर्फ (गोरे) लाई प्रहरीले मंगलबार गृहमन्त्रालयमा सार्वजनिक गरेको छ ।
मंगलबार बिहान गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको समितिले गोरेलाई सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा उप्रेतीको मुखमा मास्क लगाइएको थियो। तर पत्रकार सम्मेलनकै क्रममा उनले मास्क खोलेर आफ्नो अनुहार देखाए।
सुन प्रकरणको मामला यस्तो थियो !
माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको गाइगुइ चलेको थियो । तर, भरिया उर्लाबारीका सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि भयो ।
घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यसबारे छानविनका क्रममा पूर्व डिआर्इजी गोविन्द निरौला, महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसीसहित ७ प्रहरी अधिकारी पक्राउ परेका छन् ।
एसएसपी श्याम खत्री अझै फरार छन् । घटनामा संलग्न ६३ जनाविरुद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको छ । यो मुद्दामा जिल्ला अदालत मोरङमा बहस जारी छ ।
घटनाको अनुसन्धान गर्न सरकारले गृहमन्त्रालयका सह(सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको थियो ।