आर.के. ढुंगाना
‘साढे सातीको दशा’ भनेर ज्योतिष भाषामा खुवै प्रयोग भएको पाइन्छ । भनिन्छ, साढे सातिको दशा लागेपछि मान्छेलाई यसले बहुत सताउँछ, जीवनमा कष्ट, भय, रोग, क्षति र सर्वनाशको प्रतिक बनेर आउँछ र जान्छ । राष्ट्रलाई पनि कहिलेकाही दशा लाग्छ, भूकम्प, बाढिपहिरो जस्ता प्राकृतिक प्रकोप, रोगको महामारी वा राजनीतिक नकारात्मक उथलपूथल ! ज्योतिषीय भाषामा प्रयोग हुने साढे सातीलाई दशाको नि महादशा भनिदोँरहेछ तर हाल व्यक्ति वा राष्ट्रलाई मात्र होइन्, विश्वलाई नै सताईरहेको छ एउटा भाइरसको संक्रमणको साढेसातीले ।
कोरोनाको विश्वव्यापी महामारीले सायद साढे सातीलाई पनि जितिसकेको छ । आज विश्वभर नै कोरोनाकै कारण सर्वत्र भय, सन्त्रास, ठूलो मानवीय तथा आर्थिक क्षति र बन्दाबन्दी छ । नयाँ भाइरस भएकाले पर्याप्त अनुसन्धान भइनसकेको, खोप, औषधि पत्ता नलाइसकेको अवस्था भएकाले कोरोनाको कहर खतरनाक छ । नेपालमा संक्रमितको संख्या बढ्दै गइरहेको, लकडाउनको समयावधि लम्बिदैँ गएको कारण हामी अझ बढि सचेत हुन जरुरी देखिन्छ । हालसम्म भयानक अवस्था नआइसकेपनि लकडाउनको पूर्ण पालना गर्दै सरकार र नागरिक दुवै पक्ष सजग र पूर्ण सावधानीमा रहनु नै उत्तम उपाय हो ।
विदेशबाट फर्किएकालाई मात्र संक्रमण देखिने पहिलो चरण गुज्रदै स्थानिय व्यक्तिमा समेत संक्रमण देखिइसकेकाले हामी कोरोनाको प्रभावको दोस्रो चरणमा छौं । तेस्रो चरण अर्थात विदेशबाट आएकाबाट वा स्थानिय संक्रमणबाट कसबाट रोग सरेको भन्ने अवस्था नआउँदै हामीले गर्नुपर्ने पूर्व सावधानीका अधिकतम तयारी गर्नु बुद्धिमानी हुनेछ ।
दोस्रो चरणमा चलिरहेको बन्दाबन्दीले हामीलाई आफ्नै लागि घरमै कैद हुन वाध्य पारको छ । सरकारले कोरोनाको फैलावटलाई नियन्त्रण गर्न विभिन्न प्रयासहरु गरिरहेको छ । कोरोनासँग जुँध्न आम नागरिक र सरकारका तर्फबाट भइरहेको तयारी र व्यवस्थापन पर्याप्त नभएको आमगुनासाका वीच आगामी चुनौतिको सामना गर्न हाम्रो अभिभारा के हुन सक्छ भन्ने बारेमा यो लेखमा चर्चा गर्न खोजिएको छ ।
नागरिकका तर्फबाट सात ‘स’ को अभिभारा पालना गरौँ ।
१. सकारात्मक सोच र व्यवहार
महामारीको समयमा आफूलाई बचाउने सवैभन्दा उत्तम र विना लगानीको उपाय भनेको आफ्नो आत्मबल उच्च राख्नु र हर-समय सकारात्मक सोच राख्नु हो । भनिन्छ, सकारात्मक सोचले कैयौँ समस्यालाई पनि सजिलै समाधान गर्न सकिन्छ ।
सकारात्मक सोचले सवैलाई सहि मार्ग पहिल्याउन हौसला प्रदान गर्दछ । सकारात्मक सोच निर्माणका लागि सकारात्मक आहार र व्यवहार आवश्यक हुन्छन् । अबको दायित्व भनेको आफू र परिवारका सदस्यहरु सवैले लकडाउनको नियम पालना गर्ने, परिवारका सदस्यहरुसँग समय विताउँदै सकारात्मक व्यवहार पर्दशन गर्नु हो ।
२. स्वस्थ जीवनशैली र शरीर व्यवस्थापन
लामो बन्दाबन्दिले हामीलाई दिनभरि घरमै बस्नुपर्ने बाध्यता भएको छ । यो अवस्थामा धेरै मानिसहरुको स्वास्थ्य स्थिति विग्रन सक्छ । पर्याप्त व्यायामको कमी, तथा अनिश्चित भविष्यको तनावका वीच हाम्रो स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने सम्भावना बढि हुने हुनाले स्वस्थ्य जीवनशैली अपनाउनु नै उत्तम हुन्छ ।
त्यसका लागि सकेसम्म सन्तुलित खाना खाने, घरभित्रै योग ध्यान गर्ने र रोगसँग लड्ने शक्ति बढाउने हो । लामो समय काम नगरी बस्दा शरीर मोटाउने, हृदयघात हुन सक्ने हुन्छ, त्यसैले आफ्नो शरीर व्यवस्थापन गर्न आफूलाई कुनै न कुनै किसिमले व्यस्त बनाउनुपर्दछ । विहान उठेदेखि नसुते सम्मको कार्यतालिका बनाएर, शारीरिक तथा मानसिक अभ्यास समेतलाई निरन्तरता दिनुपर्दछ ।
आफू पनि सिर्जनशिल काममा लाग्ने, परिवारका सदस्यहरुलाई पनि कुनै न कुनै तरिकाले राम्रो काममा व्यस्त राख्नाले सवैको भलो हुन्छ । आफू सचेत भई आफू र परिवारका सदस्यले समेत गलत स्वास्थ्य प्रणाली अपनाइएको छैन्, योगा वा खेलमार्फत पर्याप्त शारीरिक अभ्यासमार्फत शरीरलाई व्यवस्थापन गरिएकोछ, अनावश्यक बाहिर ननिस्कने तथा मास्क, स्यानिटाइजरको प्रयोग सहि तरिकाले गरिएको छ भने कोरोनाको जोखिमको दर पनि स्वत न्यून हुँदै जान्छ ।
३. संकट व्यवस्थापनमा सहकार्य र सहभागिता
आम नागरिकले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हालको विषय परिस्थिति व्यवस्थापनमा सहकार्य र सहभागिता जनाउनुपर्दछ । यो संकट सरकार एक्लैको पहलमा निराकरण हुन सक्दैन् । हामी नागरिकको पहिलो सहयोग र सहकार्य भनेको बन्दाबन्दिको नियम पूर्ण रुपमा पालना गर्नु हो । त्यसपछि आफूले सकेसम्म कोरोना रोकथाम वा नियन्त्रण आर्थिक कोषमा रकम जम्मा गर्न सकिन्छ, आफूले गर्न सकेमा न्यून आय भएका वा शारीरिक रुपमा अशक्तहरुलाई राहत वितरण गर्ने वा सरकारको राहत आवश्यक व्यक्तिको हातमा पु¥याउन सहयोग गर्र्नेे इत्यादि गरेर हामीले अहिलेको विश्वव्यापी संकट व्यवस्थापनमा सहयोग गर्न सक्दछौ ।
४. सामाजिक दूरी कायम
बन्दाबन्दीको समय लामो हुनाले हामी आकस्मिक वा अत्वावश्यक काम परेर घरबाट बाहिर जानुपर्ने हुन्छ । खाद्यान्न, तरकारी किन्दा, खेतबारीको काम गर्दा, मालसामान बेचविखन वा ढुवानी गर्दा, अस्पताल जाँदा, राहत वितरणमा सहभागि हुँदा हामीले सामाजिक दूरी कायम गर्न सक्नुपर्दछ । धेरै भिडभाड हुने ठाउँमा सके सम्म नजाने, जानै परे सवै सुरक्षाको उपाय अपनाएर सामाजिक दूरी कायम गर्नुपर्दछ । सामाजिक दूरी कायम गर्दा जोखिम न्यूनीकरणमा ठूलो सहयोग पुग्दछ ।
५. सहि सूचना, समाचार र सरकारमाथि विश्वास
महामारीमा गलत सुचना वा समाचारले तनावलाई बढाउने मात्र नभइ ठूलो दुर्घटना निम्त्याउने खतरा हुन्छ । नागरिकले सहि र भरपर्दो माध्यमबाट संप्रेषण हुने समाचारलाई विश्वास गर्ने, अरुसंग बाड्ने गर्नुपर्दछ । सामाजिक संजालको समुचित प्रयोग गर्नु अति आवश्यक छ । अफवाह फैलाउने, त्रास सिर्जना गर्ने कुनै पनि सुचना वा समाचारलाई निषेध गर्दै यदि कसैले यो संकटको घडिमा अनावश्यक र गलत समाचार दिएको छ भने सुरक्षा निकायमा तत्काल सम्पर्क गरेर सहयोग गर्न सकिन्छ ।
अर्को कुरा सरकारलाई विश्वास गर्नु पनि अति आवश्यक छ । वर्तमान अवस्था आम नागरिक र सरकार दुवैका लागि चुनौतिपूर्ण छ । यो अवस्थामा सरकार असफल हुनु भनेको देश नै असफल हुनु हो । त्यसैले सरकारले लापरवाही गर्ने छुट छैन् । संकटमा सरकारमाथि नै अविश्वास भयो भने कसको भर पर्ने ? सरकारको आधिकारिक काम र सूचनालाई अवमूल्यन गर्नु हुँदैन । सरकारले गल्ती नै ग¥यो भने खवरदारी गर्दै आम नागरिकका तर्फबाट सुझाव दिनु पर्दछ ।
६. सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई हौसला र सहयोग
कोरोना महामारीमा सवैभन्दा बढि सक्रिय हुने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई हाम्रो साथ, सहयोग र हौसलाको जरुरी छ । उनीहरुको योगदानलाई मुक्तकण्ठले प्रशंसा गर्दै अझ प्रभावकारी कार्य सम्पादन गर्नमा सरकार र नागरिकको तर्फबाट प्रोत्साहन गर्नुपर्दछ ।
अनवरत सेवाका लागि विशेष आर्थिक प्याकेज दिएर पनि हौसला बढाउन सकिन्छ । यो समयमा संकटमा योगदान गर्ने सुरक्षा निकायका जवान, डाक्टर, नर्स, अस्पतालका सवै कर्मचारी लगायत सवैलाई सुरक्षाको प्रत्याभुति गराउनु अपरिहार्य हुन्छ ।
७. सृजनात्मक सचेतना, सिकाइ र सम्बन्ध सुधार
फुर्सदको समयलाई जति सक्दो सृजनात्मक कुराहरु गर्नमा सदुपयोग गर्नुपर्दछ । अध्ययन अनुसन्धान गर्ने, लेख रचनामा समय लगाउने, भविष्यका लागि योजना बनाउने, कोरोना संकटपश्चात गर्न सकिने नवीनतम कामहरुको तयारी गर्ने, पारिवारीक तथा व्यावसायिक सम्बन्ध सुधार गर्ने, सांगतिक क्रियाकलाप गर्ने, घरभित्रै योग ध्यान व्यायाम गर्ने, घरमै बसेर सिक्न सकिने कुनैपनि जीवनउपयोगी सीप सिक्नेजस्ता कार्यहरुबाट समयको सहि सदुपयोग गर्न सघाउँछ । हामी प्राय सामाजिक संजालमा जोडिएका छौ ।
यो समयमा सामाजिक संजालबाट संकटका विषयमा सचेतना जगाउने, शंकास्पद संक्रमितको पहिचान गर्न सहयोग गर्न सक्दछौँ । मानसिक स्वास्थ्यमा विशेष ध्यान दिने, घरमै बसेर गर्न सकिने भएमा कार्यालयको काम गर्ने, फोन, मेलमार्फत साथीहरु, आफन्तसँग वा पेशागत व्यक्तिहरुसँग सम्पर्कमा रहदाँ उपयुक्त हुन्छ । कोरोनापछिको राज्य वा व्यक्ति, सवैको आर्थिक अवस्था कमजोर हुने निश्चित छ ।
कमजोर अर्थतन्त्रले निम्त्याउने आर्थिक मन्दी र धरासायी व्यवसायलाई आउँने दिनमा कसरी हालको क्षति पूर्ति गराउने गरी काम गर्ने भनेर अध्ययन अनुसन्धान तथा उपायको खोजि गर्नमा समर्पित गर्नु राम्रो हुन्छ । सँसारमा असम्भव भन्ने केहि हुदैँन भन्ने मान्यतालाई विश्वास गरी भविष्यका लागि तयारी गरौँ । प्रभावकारी योजना बनाउँदै गरौँ ।