थमन विकको हत्याका अभियुक्त राज्यमन्त्री शर्मा अदालतमा !

साउन २८,महोत्तरी । मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका अभियुक्त प्रदेश नं २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा आज बिहान महोत्तरी जिल्ला अदालतमा हाजिर भएका छन ।

विसं २०७२ भदौ २५ गते महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरका निरीक्षक विकको महोत्तरी गाउँपालिकामा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको घटनामा शर्मासमेत अभियुक्त रहेका थिए ।

विभिन्न सञ्चारमाध्यममा उनि सो मुद्दामा फरार रहेको समाचार आएपछि आफू आज निवेदन दिएर आफैँ अदालतमा हाजिर भएको बताए । जिल्ला न्यायाधीश ब्रजेशकुमार पोखरेलसमक्ष निवेदन दिएर उनि हाजिर भएका थिए । उनका वकिल रमेशकुमार पाण्डेले उनि सशस्त्र प्रहरी निरीक्षक हत्यामा संलग्न रहेको बारे अदालतले ७० दिने म्यादीपूर्जी (समन) समेत नपठाएकाले राज्यमन्त्री शर्मालाई घटनाबारे केही थाहा नरहेको र पछि सञ्चारमाध्यममा उनको नाम आरोपीको सूचीमा रहेको जानकारी भएपछि उनि आफैँ आज निवेदन दिएर हाजिर भएको बताए ।

वकिल पाण्डेले जिल्ला प्रहरीले राज्यमन्त्री शर्माको म्यादी पूर्जी हराएकाले पठाउन नसकिएको अदालतलाई जानकारी दिएको बताए । पाण्डेका अनुसार अदालतको सम्मानका लागि आफैँ हाजिर भएका राज्यमन्त्री शर्माका सम्बन्धमा थुनछेकको बहस आजै चल्नेछ ।

संम्बन्धित समचार

Leave a Reply