सम्पादकीय : प्रधानमन्त्रीको सल्लाह

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ बैशाख ८, सोमबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

सरकारको नेतृत्व गर्ने अवसर पाउने व्यक्तिको चिन्तनधारा या पद्धतिले सरकार र सत्ताको चरित्रको पनि प्रतिनिधित्व गर्छ । एउटै प्रक्रियाबाट निर्वाचित भएर आउँदैमा उही पदमा पुग्ने व्यक्तिले उस्तै गरी सोच्ने र राज्य सञ्चालन गर्ने सम्भावना हुँदैन । बाराक ओबामा सत्तामा जानु र डोनल्ड ट्रम्प जानु, मनमोहन सिंह प्रधानमन्त्री हुनु र नरेन्द्र मोदी हुनु अथवा मनमोहन अधिकारी प्रधानमन्त्री हुनु र केपी शर्मा ओली हुनु भिन्नाभिन्नै हुन् । यस्तो भिन्नता शक्ति र स्रोतमाथिको नियन्त्रणले होइन, पद र प्रतिष्ठाले पनि होइन, उनीहरूको बौद्धिकताको स्तर र चिन्तन प्रणालीले ल्याउने हो । यतिवेला विश्वभर कोरोनाको कहर चलिरहेको छ । एकचौथाइ विश्व त लकडाउनको अवस्थामा छ । डेढ लाख मानिसले ज्यान गुमाएका छन् । जाँचिएकाहरूबाट २३ लाखभन्दा बढी मानिसमा कोरोना देखिएको छ ।

यसको सबै देशले भ्याएसम्म उपाय लगाएर सामना गरिरहेका छन् । तर, सामना गर्ने तरिका र आमनागरिक तथा सरोकारवाला संस्थासँग गरिने संवादमा शासकहरूको चरित्र भिन्नभिन्न ढंगले प्रतिबिम्बित भइरहेको छ । ट्रम्प दुनियाँलाई उल्लु बनाउन खोज्दै आफ्नै स्वास्थ्यसम्बन्धी विज्ञहरूले दिएका तर्कमा मत बझाइरहेका छन् । विश्व स्वास्थ्य संगठनको अनुदान रोक्ने उनको निर्णय र अमेरिकामा उपचार प्रणालीमा देखिएको खाडलले उनको वास्तविक चरित्र उदांगो पारिरहेका छन् । ब्रजिलियन राष्ट्रपति बोल्सोनारोले आफ्ना स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरेर कोरोना महामारीलाई न्यून आँक्ने दुस्साहस गरिरहेका छन् । उनीहरू चिकित्सा विज्ञानलाई चुनौती दिइरहेका छन् । यसले रोगविरुद्ध लड्ने तिनको क्षमता नै घटिरहेको छ ।

यता नेपालमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको अहंले कोरोनाविरुद्धको लडाइँलाई कमजोर बनाइरहेको अनुभव गरिएको छ । पहिलो त उनी सरकारका दैनिक निर्णय प्रक्रियामा प्रभावशाली रूपमा उपस्थित देखिएका छैनन् । ओम्नी समूहसँगको सामान खरिद सम्झौता थाहा पाइनँ भनेर आफ्नो कमजोरी उनी आफैँले स्विकारिसकेका छन् । यता केही दिनदेखि प्रधानमन्त्रीको एउटा भाषणको भिडियो क्लिप भाइरल भइरहेको छ । त्यसमा उनी प्रदेशका मुख्यमन्त्रीहरूसँग संवादमा देखिन्छन् । उनी मच्चिई–मच्चिई कोरोना भाइरसका रूप, रंग, क्षमता र त्यसको जैविक या निर्जीव गुणसहितका विषयमा बोलिरहेका देखिन्छन् । उनले तातोपानीले हात धुनु, मुख पखाल्नु र कुल्ला गर्नु या तातोपानी पिउनुलाई कोरोना सरेपछि पनि असर पर्न नदिने ढालका रूपमा व्याख्या गरेका छन् । यहाँनेर उनको नियतमाथि प्रश्न उठाइएको छ । पहिलो त उनले भाइरसको विषयमा जे भने, त्यो विज्ञहरूको या विश्व स्वास्थ्य संगठनको परिभाषाभन्दा यताउता पारिएको छ ।

दोस्रो, तातोपानी पिउँदा या तातोपानीले हातमुख धुँदा भाइरस मर्ने तथ्य कुनै पनि भाइरोलोजिस्ट र भाइरलसँग जुधिरहेका संस्थाले भनेका छैनन् । यसको कुनै विश्वसनीय आधार पनि छैन । यो त भाइरससँग जुध्न जिम्मुपानीमा बेसार राखेर पिउनुपर्छ भनेजस्तो हावादारी सल्लाह हो । र, हाम्रा प्रधानमन्त्री यस्ता सल्लाह गर्वसाथ दिइरहेका छन् । वास्तवमा यस्तो विषयमा बोल्न प्रधानमन्त्री ओली आधिकारिक मान्छे होइनन् । उनी प्रधानमन्त्री त हुन्, तर भाइरोलोजीका विज्ञ होइनन् । यस्तो विषय हालै स्वास्थ्य मन्त्रालयले कारबाही गरेका डा. शेरबहादुर पुन या ह्याम्स अस्पतालका चिकित्सक डा. अनुप सुवेदीहरूलाई बोल्न लगाएर ओलीले पनि सुन्दा राम्रो हुने थियो । तर, हाम्रा प्रधानमन्त्री ज्ञान मिमांसाका हरेक शाखामा आफूभन्दा अब्बल जान्ने अर्को हुन सक्छ भन्ने विश्वास गर्दैनन् । ‘इन्फेरियोरिटी कम्प्लेक्स’बाट जन्मेको विपरीत मनोविज्ञानले मात्र मान्छेलाई यस्तो सोचको बनाउँछ । प्रधानमन्त्रीको यस्तो दाबीले रोग नियन्त्रणमा होइन, विस्तार गर्नमा नै सहयोग पुग्छ । कमसेकम यस्तो महामारीको विषयलाई प्रधानमन्त्रीको राजनीतिक अहंले भस्म पार्न दिनुहुँदैन ।

नयाँपत्रिका दैनिकबाट साभार

ताजा अपडेट

खोजी गर्नुहोस