भोको पेट देख्न नचाहने युवाहरु….

Post Thumbnail

-नारायण ढुंगाना
बैशाख १२, काठमाडौ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा माध्यमिक विद्यालयको यो समयमा शिक्षकले विद्यार्थीलाई तहअनुसारको शिक्षा दिइरहेका हुन्थे । बिहान–बेलुका हुने बालबालिकाको आवतजावतले वरिपरिको माहोल नै स्कूलमय हुन्थ्यो ।

कोभिड–१९ का कारण एक महिना अघिदेखिको लकडाउनले यतिखेर स्कूल प्राङ्गणको दृष्य फरक छ । यहाँ एकाबिहानै एकहुल युवा आइपुग्छन् । कोही तरकारी काट्न, कोही भात पकाउन त कोही पानी र थाल कचौराको व्यवस्थापनमा जुट्छन् । यो क्रम बिहान ११ः०० बजेसम्म नै चल्छ । अपराह्न ३ः०० बज्न नपाउँदै त्यही युवा जमात फेरि जुट्छन् र नियमित क्रियाकलाप थाल्छन् ।

स्कूल आउने व्यक्ति न त कसैको हातमा कापी कलम हुन्छ न पिठ्यौँमा झोला । हुन्छन् त केवल पोकापन्तुरा बोकोका वयस्क मानिस । अनि उनीहरुसँग केही लालाबाला हुन्छन् । केही युवा त केही वृद्धवृद्धासमेत हुन्छन् । त्यही पनि एक दुई सय होइन झण्डै एक हजार जना । उनीहरु विहान ९ः०० देखि ११ः०० बजे आइपुग्छन्, खाना खान्छन्, फेरि साँझ ५ः०० देखि ७ः०० बजेसम्ममा आउँछन् खाना खान्छन् अनि आआफ्नो गन्तव्यमा जान्छन् ।

लकडाउनका कारण कुनै पेशा अपनाउन नसकेपछि भोकभोकै सडकमा पुगेका ति मानिसलाई त्यसरी खाना खुवाउन यहाँका ५० युवाहरु सक्रिय छन् । उनीहरु छरछिमेकमा कोही पनि भोको परेको देख्न चाहँदैनन् । सबैले खाना खान पाउन् भनेर मेस चलाएका हुन् ।

“यहाँ विहान ६ः०० बजेदेखि नै खाना बनाउन हामी जम्मा हुन्छौँ, राती ८ः०० बजेसम्मै व्यस्त हुनुपर्छ, हामी ५० जना युवा नियमित खटिन्छौँ”, आयोजक नारायणटार युवा क्वलका अध्यक्ष धर्म थिङ लामाले भने । नगरपालिकाको वडा नम्बर ६ सँगको समन्वयमा एक हप्तादेखि युवा समुह खाना खुवाउन सक्रिय भएको उनले बताए।

शुरुमा स्थानीय तहबाट राहत बाँडिएको थियो । त्यो राहत वास्तविक मजदूर र सडकमा पुगेकाले नपाएपछि युवालाई खिन्न लाग्यो । त्यसपछि उनीहरुले तत्कालै खाना खुवाउने निर्णय गरेका हुन् । यहाँ निःशुल्क खाना खानेमा उदयपुरका कुलबहादुर मगर पनि हुनुहुन्छ । काठमाडौँको जोरपाटीस्थित नारायणटारमा अस्थायीरुपमा बस्ने मगरको पेशा रङ्रोगन लगाउने हो । लकडाउन यति लामो होला भन्ने उहाँलाई लागेकै थिएन । लकडाउन भनेको के हो भन्नेसम्म थाहा थिएन । अघिपछिको बन्दजस्तै त होला भन्ने लागेर खासै मतलव गर्नु भएन । उहाँले केही दिन कमाएको पैसाले जेनतेन चलाए । विस्तारै थाहा हुँदै गयो लकडाउन भनेको मान्छे हिँडडुल गर्न पनि नपाउने रहेछ ।

अघिपछिको बन्दमा उनलाई कामको कमी थिएन । यसपालि वेकामे बनेपछि सडकमा आउनुप¥यो । पेट भर्ने अन्न कै समस्या भएर सडकमा भौतारिँदै गर्दा युवा क्लबको मेसमा खाना पाएपछि एक हप्तादेखि बिहान बेलुका के खाने भन्ने चिन्ता छैन । उनले भने, “रोगभन्दा पनि भोकको चिन्ता थियो, अब त बाँचिने भयो, खुशी छु ।”

भारत मोतीहारीका २१ वर्षीय विकास यादवको पीडा पनि उस्तै छ । जोरीपाटीस्थित एक चिया पसलमा काम गर्ने उनि लकडाउन कै कारण घरको न घाटको भए । साहुले पसल बन्द गरेपछि दुईचार दिन सडक मै बास भयो । केही दिन खाना माग्दै खाँदैमा बित्यो । उक्त मेस देखेपछि उनि पनि खुसी छन ।

तनहुँकी एक महिलालाई तीन वर्षदेखि काठमाडौँ बस्दा यस्तो कुनै समस्या परेको थिएन । लकडाउनका कारण कमाई नहुँदा डेरा भाडा तिर्न सकिनन । डेरा छाड्न बाध्य उनि गाउँ कै आफन्तकोमा बस्छिन् । आफन्तले बाहिरै खानु, सुत्न मात्रै आउनु भनेपछि क्लबले खुवाउने गरेको खानाले ज्यान बचेको उनले बताइन ।

शुरुमा ५०÷६० जनालाई खाना खुवाए पुग्छ भन्ने युवा क्लबलाई लागेको थियो । बैठकमा त्यही निर्णय गरेर काम थालिएका थियो । तर मानिसको भीड अप्रत्यासित बढ्दा दैनिक झण्डै एक हजारलाई खाना खुवाउनु परेको छ तर पनि युवाले हरेस खाएका छैनन् । मानिस थोरै हुँदा क्लबले नै व्यवस्थापन गर्ने भनिए पनि मान्छे धेरै भएपछि वडा कार्यालय, स्थानीय संस्था र व्यवसायीसँग सहकार्य गरिएको छ ।

युवाले स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर खाना वितरण गर्ने गरका छन् । सरसफाइमा पनि उत्तिकै ध्यान दिइएको क्लबका सल्लाहकार तथा नयाँ जीवन नेपालका अध्यक्ष राजन खनालले बताए। खनाल भन्छन् , “एक मिटर दूरी कायम गरेर राखिन्छ, आएकालाई स्यानिटाइजरको व्यवस्था छ, थर्मल गनबाट तापक्रम नापिने गरिएको छ, साबुन पानीले हात धुने व्यवस्था छ, खाना खाएपछि थाल कचौरालाई व्यवस्थितरुपमा सफा गर्ने गरिएको छ ।”

अहिले मुलुकभर नै यसरी खाना व्यवस्थापनमा युवा नै सक्रिय देखिएका छन् । कतिपय स्थानमा स्थानीय तहले खानाको जोहो गरेको छ भने धेरैजसो स्थानमा विभिन्न संस्थाका युवा क्रियाशील छन् । त्यस कारण पनि मजदूरको पेट अघाएको छ ।

रासस

ताजा अपडेट

खोजी गर्नुहोस