शिक्षा मन्त्रालयले सुरु गरेको बेरोजगार युवा निःशुल्क तालिम लकडाउनले अन्योलमा

वैशाख १८, काठमाण्डौ । शिक्षा मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि इभेन्ट परियोजनाले विपन्न परिवारका बेरोजगार युवालाई लक्षित गरी चालू आर्थिक वर्षमा सुरु गरेको छोटो अवधिको तालिम अन्योलमा परेको छ । आधा समय तालिम लिएका युवा कोरोना भाइरसका कारण उपत्यकाबाट बाहिरिएका र आर्थिक वर्ष सकिन लागेकाले बाँकी तालिम के गर्ने भन्ने अन्योल भएको हो ।

इभेन्ट परियोजनाले उत्पयकाका तीन जिल्लामा भौचर प्रणाली र अन्य जिल्लामा नतिजामा आधारित तीनमहिने तालिम सुरु गरेको थियो । प्रतिव्यक्तिका आधारमा परियोजनाले रकम भुक्तानी गर्ने भएकाले बाहिरिएका युवा पुनः नआए उनीहरूको तालिम अपुरो हुने र डेढ महिनाभन्दा बढी तालिम दिएका तालिमप्रदायक संस्थाको लगानीसमेत अनिश्चित हुनेछ । इभेन्ट परियोजना प्रमुख चन्द्रकान्त भुषालका अनुसार उपत्यकाका तीन जिल्लामा सञ्चालित निःशुल्क तालिममा सात हजार पाँच सय भौचरका लागि छनोट भएका थिए । यसैगरी, नतिजामा आधारित लेभल १ र लेभल २ गरी २४ हजार दुई सय ५० छनोट भएका थिए । तालिम माघ महिनादेखि सुरु भएको थियो ।

इभेन्ट परियोजना प्रमुख भुषालले अधिकांश संस्थाले तालिम सुरु गरेर आधा समय सञ्चालन गरेका थिए । छनोट भएर तालिमप्रदायकसँग सम्झौता भइसकेको थियो । ‘सम्झौता गरेर तालिम सुरु भएपछि आर्थिक दायित्व थपिएको छ, तर लकडाउनले थप तालिमबारे अन्योल भएको छ,’ परियोजना प्रमुख भुसालले भने, ‘काठमाडौं उपत्यकाको तालिम जटिल हुने देखिएको छ, काठमाडौंमा तालिम लिने बाहिरका धेरै छन्, कोरोनाको जोखिम बढेपछि तालिम लिइरहेका पनि बाहिरिए, अब तालिम लिन आउँछन् कि आउँदैनन् भन्ने छ ।’ जेठ दोस्रो साता सुरु गर्न सके मात्र तालिम सकिने भुषालको भनाइ छ । यो आर्थिक वर्षमा सम्भव नभए अर्को वर्ष क्रमागत रूपमा सञ्चालन हुने उनले बताए ।

राजधानीमा मात्र भौचरका लागि करिब १० करोड
चालू आर्थिक वर्षमा राजधानीमा सञ्चालन हुने निःशुल्क भौचरको तालिमका लागि नौ करोड ७५ लाख बजेट विनियोजन भएको छ । एउटा संस्थाले २० जनालाई तालिम दिन पाउँछ र तालिमको वर्गीकरणअनुसार रकम पाउनेछन् । प्रतिभौचर १८ हजार दुई सयदेखि २२ हजार दुई सय बजेट विनियोजन भएको छ ।

संम्बन्धित समचार

Leave a Reply