कोरोनाको प्रभाव : विश्वका एक अर्ब ६० करोड मजदुरको रोजगारी खोसियो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख १९, शुक्रबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

वैशाख १९, काठमाण्डौ । संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओ ले कोरोना भाइरसको हामारीले विश्वका झन्डै ५० प्रतिशत कामदारको रोजीरोटी खोसेको नयाँ तथ्य सार्वजनिक गरेको छ । महामारीका कारण अधिकांश मुलुक पूर्ण एवं आंशिक लकडाउनमा भएकाले विश्वभर दुई अर्ब ७० करोड मजदुर प्रभावित बनेका खबर आजको नयाँ पत्रिका दैनिकमा मुना कुँवर र नारायण सिवाकोटीले लेखेका छन् । महामारीको सबैभन्दा ठूलो मार अनौपचारिक क्षेत्रमा परेको छ । आइएलओका अनुसार विश्वभरका तीन अर्ब ३० करोड जनशक्तिमध्ये दुई अर्ब मजदुर अनौपचारिक क्षेत्रमा काम गर्छन् । उनीहरूमध्ये एक अर्ब ६० करोडको जीविका कोरोनाले खोसेर भोकभोकै बस्नुपर्ने अवस्थामा पुर्‍याएको छ  । अनौपचारिक क्षेत्रका कामदारसँग वैकल्पिक आय गर्ने अन्य माध्यम नहुने भएकाले ती कामदार र तिनमा आश्रित परिवारको बाँच्ने आधार नै गुमेको हो । रोजगारीमा परेको कोरोनाको प्रभाव निकै दूरगामी, व्यापक र अपूर्व रहेको आइएलओको ठहर छ । विश्वमा अहिले पारिश्रमिक न्यून हुने र रोजगारीको कुनै सुरक्षा नभएका होलसेल र रिटेल व्यापारको क्षेत्रमा ४८ करोड २० लाख मानिस काम गर्छन् ।

त्यसैगरी, म्यानुफ्याक्चरिङमा ४६ करोड ३० लाख कामदार छन् भने यातायात, स्टोरेज र सञ्चार उद्योगमा काम गर्नेको संख्या २० करोड ४० लाख छ । अनौपचारिक क्षेत्रका दुई अर्ब कामदारमध्ये अधिकांश उदीयमान एवं विकासशील मुलुकका हुन् । भारत, नाइजेरिया र ब्राजिलजस्ता विकासशील मुलुकको रोजगारी, आय एवं जनजीविकामा अनौपचारिक क्षेत्रको भूमिका महत्वपूर्ण छ । भारतको श्रमबजारमा अनौपचारिक क्षेत्रको हिस्सेदारी ९० प्रतिशतभन्दा धेरै छ  ।

आइएलओले अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारलाई यो संकटले गरिबीमा धकेल्न सक्ने खतरा औँल्याएको छ । आइएलओले साना उद्यम एवं अनौपचारिक क्षेत्रका कामदारलाई तत्कालै सहयोग गर्नु आवश्यक रहेको जनाउँदै सहयोगका लागि सम्बन्धित मुलुकलाई आह्वान पनि गरेको छ । उसले सबल रोजगार नीति एवं प्रभावकारी सामाजिक सुरक्षा प्रणाली ल्याउन पनि सुझाब दिएको छ । ‘करोडौँ मानिसका लागि काम नहुनुको अर्थ खानेकुरा, सुरक्षा एवं भविष्य केही पनि नहुनु हो  । उनीहरूसँग कुनै बचत हुँदैन र कर्जामा पनि पहुँच हुँदैन  । विश्वको वास्तविक मुहार यही हो  । उनीहरूलाई हामीले अहिले सहयोग नगर्ने हो भने उनीहरू मर्नेछन्,’ आइएलओले भनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस