वैशाख १९, पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा गत मंगलबार बैठक बसेर लकडाउन अवधिमा अत्यावश्यक उद्योग, विकास निर्माण र कृषिका काम सञ्चालन गर्न प्रदेश सरकारले मापदण्ड बनाएको छ ।
सहर, बजार र घना बस्तीबाहिरका अत्यावश्यक निर्माण व्यवसाय सुरु गर्ने मापदण्डमा उल्लेख गरिएको छ । ढुंगा, गिटी, बालुवा, माटो, तारजाली, इन्धन, बिटुमिनजस्ता निर्माण सामग्री, मेसिनरी औजार, एक्साभेटर, लोडर ब्रेकरजस्ता सामग्रीको ढुवानी व्यवस्था गर्ने प्रदेश सरकारले बताएको छ ।
मजदुरको फोटोसहितको विवरण राखेर सामाजिक दूरी कायम गर्दै विकास आयोजना सञ्चालन गर्न सकिने प्रदेश सरकारको भनाइ छ । कामदारलाई क्षेत्र तोकेर काममा लगाउने, तोकिएको स्थानभन्दा बाहिर जान निषेध गर्ने र बाहिरबाट आएका कुनै पनि व्यक्तिसँग सम्पर्कमा आउन नदिने गरी आयोजनाको काम सञ्चालन गर्न लागिएको सरकारका प्रवक्ता भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले बताए ।
निर्माणस्थलमा अनिवार्य रुपमा प्राथमिक उपचारको व्यवस्था गर्ने र कामदारको ज्वरो नाप्ने, नियमित हात, खुट्टा धुने व्यवस्था मिलाउनुपर्ने सरकारले तयार पारेको मापदण्डमा छ ।
निर्माण सामग्री आपूर्तिका लागि सम्बन्धित कम्पनीले सवारी साधनको प्रकार, चालक, सहयोगीको नाम र प्रयोग हुने स्थान उल्लेख गरेर जिल्ला प्रशासन कार्यालयबाट पास लिन सक्नेछ ।
सरकारले खाद्यान्नसम्बन्धी उद्योग सञ्चालन गर्न लगाउने भएको छ र यसको ओसारपसार गर्नेलाई पनि अनुमति दिने मापदण्ड बनाएको छ ।
अन्नबालीका लागि मल, बिऊ, विषादी, औजारका पसल, ढुवानी साधन प्रशासनबाट पास लिएर सञ्चालन गर्न सकिनेछ ।
जिल्ला प्रवेश तथा प्रस्थान विन्दुमा सवारी साधन सेनिटाइज गर्ने, मागका आधारमा सिमेन्ट, रड, ग्याबिन, तारजाली, पाइप, फलामजन्य व्यवसाय सञ्चालन गर्न दिने मापदण्ड प्रदेश सरकारले बनाएको छ ।
पोखरा औद्योगिक क्षेत्रमा लकडाउनपछि बन्द भएका ३१ उद्योग सञ्चालनमा आएका छन् । ६ सय कामदार लकडाउनपछि काममा फर्केका छन् ।
लकडाउनपछि बन्द भएका उद्योग विस्तारै खुल्न थालेको औद्योगिक क्षेत्र व्यवस्थापन समितिका प्रवन्धक भुषणकुमार उपाध्यायले बताए ।
बिहीबारसम्म आइपुग्दा गण्डकी प्रदेशमा लकडाउन धेरै खुकुलो देखिएको छ । पोखरामामात्र फुस्रे खोला, खहरे खोलालगायतका ३ ठाउँमा पुल निर्माण भइरहेको छ । मानिसहरु काममा फर्किन थालेका छन् भने निर्माण आयोजना र अत्यावश्यक उद्योग खुलाउन प्रदेश सरकारले मापदण्ड तयार पारेको छ ।
गण्डकी प्रदेशमा २ जनालाई कोरोनाको संक्रमण देखिएको थियो । ती दुबै जना बागलुङका हुन् र उनीहरु निको भएर घर फर्किसकेका छन् ।
गण्डकी प्रदेशमा अहिलेसम्म ६ सय २७ जनाको नमूना संकलन भएर जाँच गरिएकोमा ६ सय २० जनाको परीक्षण नेगेटिभ आएको छ । ५ जनाको नतिजा आउन बाँकी छ । ५ हजार ४ सय १३ जनाको र्यापिड टेस्ट गरिएको छ ।