साउन ३१,पर्वत । विगत केहि दिनदेखि परेको निरन्तर वर्षाका कारण कालीगण्डकी नदीमा पानीको सतह अत्यधिक बढेको छ ।
हिमालपारीको जिल्ला मुस्ताङ हुँदै म्याग्दी र पर्वत हुँदै बग्ने कालीगण्डकी नदीमा बुधवार पानीको सतह विगत तीनवर्ष यता उच्च विन्दुमा पुगेको हो ।
आज बिहान पानीको सतह बढेर एक हजार नौ सय मिटर क्युसेक पुगेको छ । मङ्गलबार बिहानसम्म एक हजार एक सय मिटर क्युसेक रहेको सतह गएरातिको भारी वर्षासँगै ह्वात्तै बढेको हो । एकै दिनमा आठ सय क्युसेक पानीको सतह बढेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।
कालीगण्डकीमा सबैभन्दा धेरै पानीको सतह बढ्दा दुई हजार पाँच सयदेखि तीन हजारसम्म पुग्ने गरेको कालीगण्डकी ‘ए’ जलविद्युत परियोजनाले जनाएको छ । यसअघि २०७२ सालमा पनि एक हजार नौ सय मिटर क्युसेककै हाराहारीमा पानीको सतह पुगेको थियो ।
पर्वत स्याङजा र गुल्मीको सिमाना सेतीवेणीमा भने पाँच हजार क्युसेकसम्म सतह पुग्ने गरेको आयोजनाले जनाएको प्रजिअ ढकालले जानकारी दिए ।
निरन्तरको वर्षासँगै सतह ह्वात्तै बढेपछि जिल्ला प्रशासन कार्यालयले सम्बन्धीत सबैमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।