साउन ३१,काठमाडौँ । सरकारले सबै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गर्ने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारीको अवसर सिर्जना हुनेगरी ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गर्न लागिएको जानकारी दिएका हुन ।
बुधबार संघीय संसद उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले रोजगारीको हकलाई मौलिक हकको रुपमा प्रत्याभूति गराउन रोजगारसम्बन्धी ऐन पनि छिट्टै संशोधन गर्ने कार्ययोजना अघि सारे । मन्त्री विष्टले रोजगारीको अवसर नपाएका गरिब समुदायलाई पनि न्यूनतम १०० दिन रोजगारीको अवसर सिर्जना गर्ने मापदण्ड पनि सरकारले तयार पारेको स्पष्ट पारे ।
उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाएर चालू आर्थिक वर्ष भित्र सरकारले व्यापक रोजगारीको अवसर सिर्जना गर्ने दावी पनि गरे ।
सरकारले चालू आर्थिक वर्ष भित्र कम्तीमा १ लाख रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ ।