संसद् भवनमा उच्च सतर्कता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ बैशाख २५, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख २५, काठमाडौँ । कोरोना कहरबीच आह्वान गरिएको सङ्घीय संसद्को बजेट अधिवेशनलाई सुरक्षित बनाउन संसद् सचिवालयले सबै प्रकारका रणनीति बनाइरहेको छ । सचिवालयले विशेषज्ञसहितको प्रतिवेदनका आधारमा संसद् बैठकलाई कसरी सुरक्षित बनाउने भन्ने तयारी जारी राखेको छ । मङ्गलबार कार्यव्यवस्था परामर्श समितिको निर्णय अनुसार बिहीबार प्राथमिकताका आधारमा सांसदहरूको कोरोना परीक्षणको प्रक्रिया प्रारम्भ हुँदैछ ।

वैशाख २६ देखि संसद् अधिवेशन सुरु हुनेछ । बैठकलाई सुरक्षित बनाउनेबारे सचिवालयमा स्वास्थ्य सेवा विभागका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा अमृत पोखरेल संयोजकत्वको टोलीले प्रतिवेदन दिएको छ । सोही प्रतिवेदनका आधारमा तयारी भइरहेको छ । प्रतिवेदनमै आधारित भएर मङ्गलबार कार्यव्यवस्था परामर्श समितिले सदस्यहरूको पीसीआर परीक्षण लगायतबारे निर्णय गरेको हो ।

प्रधानमन्त्रीलाई छुट्टै व्यवस्था
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई समेत ख्याल गरेर बैठक कक्षमा १२ कुर्सीमा उहाँलाई एकल स्थान निर्धारण गरिएको छ । सत्ता पक्षको पहिलो रोहमा बस्ने प्रधानमन्त्रीलाई सङ्क्रमण जोखिम नहोस् भनेर पछाडिको दोस्रो लाइन पनि पूरै खाली राखिने भएको छ । दुई लाइनमा गरी १२ कुर्सी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत अघिल्लो साता बैठक कक्षको अवलोकन गरेका थिए ।

यस्तै बुधबार प्रधानमन्त्रीको निजी चिकित्सक डा। दिव्या सिंह र अर्का चिकित्सक सुवास आचार्यले पनि बैठक कक्षको अवलोकन गरे । अवलोकनपछि प्रधानमन्त्री आसनपछिको दोस्रो लाइन पनि पुरै खाली राख्ने तय भएको हो ।
प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले प्रधानमन्त्रीको स्वास्थ्यको समेत ध्यानमा राखेर परामर्शपछि सचिवालयले आसन व्यवस्थापन गरेको बताए । योगीले भने “सबै हिसाबले बैठक कक्षलाई कसरी सुरक्षित बनाउने भन्ने एउटा विषय छ ।”

सेल्फ आइसोलेसनमा राख्न सुझाव
यस्तै विज्ञ टोलीले सांसदहरूलाई सेल्फ आइसोलेसनमा बस्न सुझाएको छ । सचिवालय स्रोतका अनुसार उक्त व्यवस्था सांसद स्वयंले आफ्नो निवासमा गर्न उपयुक्त हुने सुझाइएको छ ।
यस्तै जोखिम न्यूनीकरणका लागि बैठक कक्षमा प्रवेश गर्ने र निस्कने द्वारलाई फरक फरक गर्न भनिएको छ । यस्तै मुख्य गेटमा सम्भावित लक्षण पहिचानका लागि स्वास्थ्य टोली परिचालन गर्न पनि सुझाव दिइएको छ । आइसोलेसन वार्डको क्षमता अभिवृद्धि गर्न पनि विज्ञ समितिको सुझाव छ ।
परीक्षण आज
कार्यव्यवस्था परामर्श समितिको निर्णय अनुसार सांसदहरूको स्वास्थ्य परीक्षण बिहीबार हुने भएको छ । सचिवालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयमा पीसीआर परीक्षण गर्न लागेको हो । नमुना सङ्कलन संसद् भवन परिसरमा हुने जानकारी सबै सदस्यलाई दिइएको छ ।
अति जोखिमपूर्ण क्षेत्रबाट काठमाडौँ फर्किएका सांसदहरूलाई परीक्षणमा प्राथमिकता दिइएको छ । सचिवालयका अनुसार बिहीबार बिहान १० बजेदेखि राष्ट्रिय सभा सदस्यहरूको नमुना सङ्कलन गरिनेछ । यस्तै ११ बजेबाट प्रतिनिधि सभा सदस्यहरूको नमुना सङ्कलन हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस