कारागारको छिँडीबाट (कविता)

मुठ्ठीमा ज्यान धरापमा पारेर
देशमा दुईथोपा रगत आहुती गर्नेहरूको कथा लेख्दा
सट्टामा भएँ गिरफ्तारी
स्वाभिमानमा –
लिम्पुलेक , लिम्पियाधुरा , कालापानी र सुस्ता लुटिँदा
उठाको थेँ आवाज काँडे तारका अग्ला पर्खाल छेउमा
देशद्रोहीको आरोप लाएर
हतकडी लाए पातकीहरूले
र ठोके ठिँगुरा बलिया बन्दुक बोकेका काँतर हातहरूले
टनकपुर दुखेको बेला मलहम लाउन
सुस्तामा जाँदा दशगजाको गीत गाएँ
सट्टामा कायरहरूले बनाए देशद्रोही ।

तमोरको गड्तिरमा बसेर –
गिट्टी कुट्ने कान्छीमाया र
चँदारे ठूलेका जीवन लेख्दा
बनाए सिखण्डीहरूले आतङ्कवादी
मेरो देशका माटाको डल्लामा
देश बगाउनेहरूको रगतको गीत लेख्दा
मक्काएर ढल्न लागेको कूलीनतन्त्र ढल्ने डरले
दुष्टहरूले मेरो शरीर
बन्द कोठरीमा ताल्चा मारेर
काला युगका राक्षसहरूले
गाडिरहे पैतालामा तीखा सङ्गीन ।
थुक्क नाथे काँतर हो !
तिमीहरूका अगाडि मैले
लेख्न नपाउने लिम्पियाधुरा ?
मिचियो भन्न नपाउने कालापानी ?
लुटियो भन्न नपाउने सुस्ता ?
बोल्न नपाउने मैले लोकतान्त्रिक देशको नागरिक भएर ?
झार्न नपाउने  मसँगैका हरूलाई
एकै चिहान पार्दा श्रद्धाञ्जलीका थोपा ?
ए भाडाका रसदपानीले लाद्रो ठड्यार
जनताका छातीमा गोली ठोक्दै
पदोन्नति भएका नालायक हो !
तिमीहरू !
देशको सिमा जोगाउने पहरेदार हौ कि
देश समाउन पसिना बगाउनेलाई
गोलीले भुट्ने आतङ्ककारी ??
भन तिमीहरू कि म आतङ्कवादी ?
ट्याम्के र साँगुरी भन्ज्याङबाट
ढाकर खेप्नेहरूका फुटेका पाइताला
र फाटेका आङले एक टुक्रा
न्यानो पाउनुपर्छ भन्ने
बजाएँ पीडा र वेदनाका धून
विपरीत भो सत्तालाई
रेटेँ भोका सारङ्गीमा खुको छिन्ताङ
कहेँ अरुण योगमायाहरू
बोलेँ थबाङका योद्धा
चिनाएँ खारामा आँखा गुमाउने चेलीहरू
सुसेलेँ रुकुमकी चेलीका क्रन्दन र पीडा
सुनाएँ रोल्पाका माइला बुढाको साहस
लेखेँ भोजपुरका शाङ्गे राईको व्यथा
भनेँ आठराईका रामबहादुरहरूको आशा
उतारेँ सल्यानका मनिरामहरूको जीवनी ।
मैले बोलिरहँदा / लेखिरहँदा
काँपिरहे काँतर सत्ताधारीका बन्दुकहरू
डगमगायो प्रजातन्त्रको घडा
खुस्कियो राजतन्त्रको पोयो ।
किन पाउँदिन म
छिमेकीले आँखा गाडेको
देशको शिर सगरमाथा दुखेको लेख्न ?
किन रोकिन्छ मलाई
र गाडिन्छ औँलाका टोप्रामा सिरिन्ज
मजदुरका ढाकर तोक्मा र फुटेका
कुर्कुच्चाका गीत लेख्न ?
ए कायर हो !
हान मेरा छातीमा ताता गोली
र उडाऊ देश बोकेको मुटु
काली र मेची बग्दै गरेको दु: खको रगत
वली देऊ आस्थाका वेदीमा
म बेरोकटोक नि: सङ्कोच सुनाइरहेछु
मेरो देशलाई भोलि बिहानै उदाउने सूर्यलाई
सलाम ठोकेर मेरो हो लिपुलेक
मेरो हो कालापानी
जारी छ महासमरको यात्रा
र मर्ने छैनन् आस्थाका इन्द्रेणी
सास छँदै सलाम छ मेरो देशलाई
यो चिसो कारागारको छिँडीबाट ।

 

आर पी गाउँले

आठराई २ तेह्रथुम 
२०७६/१२/२५

संम्बन्धित समचार

Leave a Reply