बैशाख ३१,काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि नायक भुवन केसी चुनावमा सहभागी हुने भएका छन । उनले अध्यक्षका लागि आह्वान गरिएको १५ दिनको म्याद सकिनै लाग्दा केसीले आवेदन दिएका हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्षका लागि वैशाख १६ मा सार्वजनिक सूचना जारी गरेको थियो। मंसिर ३० मा बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएपछि बोर्डको अध्यक्ष पद खाली छ।
केसीले आफू करिब चार दशकदेखि चलचित्र क्षेत्रमा काम गर्दै आएको र यो व्यवसायभन्दा अरू विषयमा नसोचेको बताउँछन्। भन्छन्, ‘मैले, चलचित्रबाहेक अन्य कुनै पेसाको विषयमा सोचिनँ। बरु, चलचित्र निर्माण, निर्देशन, अभिनयलाई निरन्तरता दिइरहेको छु। मैले, चलचित्र बोर्ड अध्यक्ष भइसकेपछि गर्ने कार्ययोजना पनि पेस गरेको छु। कोरोनापछिको भयावह अवस्थालाई सहज बनाउन पनि मेरो अनुभवले सहयोग गर्नेछ।’ सरकारले आफ्नो योगदानको मूल्यांकन गर्छ भन्नेमा उनी ढुक्क छन्।
बोर्ड अध्यक्ष पदका अर्का दबेदार दयाराम दाहालले पनि आवेदन दिएका छन्। नेपाली फिल्म उद्योगमा लामो समयदेखि कार्यरत निर्देशक दाहाल पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा निकट मानिन्छन्। उनी अहिले विकास बोर्डमा सदस्य छन्। यसैगरी चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि निर्माता अर्जुन कुमार, कलाकार सोहित मानन्धरलगायतको पनि उम्मेदवारी परेको छ।