कृषि प्रधान देशको अवस्था : नेपालगञ्ज नाकाबाट मात्रै एक अर्ब रुपैयाँको तरकारी आयात !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ भाद्र २, शनिबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र २,काठमाडौँ । नेपालगञ्ज नाका भएर वार्षिक झण्डै एक अर्ब रुपैयाँ बराबरको हरियो तरकारी भित्रिने गरेको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गएको आर्थिक वर्षमा ९१ करोड ८२ लाख ८६ हजार रुपैयाँ मूल्यको तरकारी भन्सार भएर भित्रिएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुबास श्रेष्ठका अनुसार गएको आर्थिक वर्षमा ३९ हजार ९ सय ६८ मेट्रिक टन हरियो तरकारी भन्सार भएर आयात भएको छ ।

यसैगरी दैनिक सयौं सर्वसाधारणले सीमावर्ती रुपैडियाबाट घरायसी प्रयोजनका लागि हरियो तरकारी भित्र्याउने गरेका छन् । यसरी तरकारी ल्याउने सर्वसाधारणले भन्सार तिर्दैनन् ।

नेपालगञ्जको सीमावर्ती रुपैडिया बजारमा रहेका तरकारी बजारमा नेपाली ग्राहकहरु मात्रै भेटिने गरेका छन् । व्यवसायीहरुले नेपालगञ्ज भित्र्याएको हरियो तरकारी काठमाडौं, पोखरा, सुर्खेत, दाङ लगायतका जिल्लामा समेत पुग्ने गरेको नेपालगञ्जका तरकारी व्यवसायी मोहम्मद इरफानले बताउनुभयो ।

नेपालगञ्जको रानीतलाउ र विपीचौकमा रहेका तरकारी मण्डिमा पछिल्लो समय स्थानीय उत्पादन भएको तरकारी समेत पाइने भए पनि अधिकांश तरकारी भने भारतबाट भित्र्याइने गरेको बिक्रीका लागि राख्ने गरिएको हुन्छ ।

भारतबाट आलु, प्याज, टमाटर, हरियो सागपात र तरकारी दैनिक भन्सार भएर भित्रिने गरेको छ । नेपालगञ्जमा रहेका दुईवटा तरकारी बजार बाहेक सयौं ठेला व्यवसायीले समेत भारतीय तरकारी बिक्री गर्दछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस