विश्वमा कोरोना संक्रमितको संख्या आधा करोड नाघ्यो ! महामारीको नयाँ इपिसेन्टर ल्याटिन अमेरिका

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ८, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ८,काठमाडौँ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघेको छ। संक्रमित संख्या बुधबार ५० लाख पार भएको हो । यसक्रममा ल्याटिन अमेरिकी देशहरूले संक्रमित संख्यामा अमेरिका र युरोपलाई पछि पारेका छन्। अहिलेसम्म ३ लाख २९ हजार ७ सय ६९ जनाको मृत्यु भइसकेको छ । २० लाख २२ हजार ७ सय २७ जना निको भएर घर फर्किएका छन ।

रोयटर्समा प्रकाशित समाचारका अनुसार विश्वमा दैनिक कोरोना संक्रमणमा वृद्धि देखिएको छ। यसले भाइरस संक्रमण नयाँ चरणमा पुगेको देखाएको छ। फरवरीमा चीनमा धेरै देखिएको भाइरसले त्यसपछि क्रमशः युरोप र अमेरिकामा महामारीको रूप धारण गरेको थियो। हाल यो अवस्था ल्याटिन अमेरिकी देशमा सुरू भएको छ।

यो साताको सुरूमा रिपोर्ट भएका ९१ हजार केसहरूमा एक तिहाई केस ल्याटिन अमेरिकी देशहरूमा देखिनुले महामारीले नयाँ इपिसेन्टर बनाउने देखाएको छ। यो संक्रमित संख्यामा युरोप र अमेरिकाको हिस्सा भने २० प्रतिशत भन्दा केही बढीमात्र छ।

ल्याटिन अमेरिकी देशमध्ये सबैभन्दा बढी केस ब्राजिलबाट छन्। संक्रमित संख्यामा उसले हालैमात्र जर्मनी, फ्रान्स र बेलायतलाई उछिनेको छ। हाल ब्राजिल अमेरिका र रसियापछि धेरै कोरोना संक्रमित भएको तेश्रो देश हो।

ब्राजिलको दैनिक संक्रमण वृद्धिदर अमेरिकापछि दोश्रोमा छ। रोनाका पहिलो ४१ वटा केसहरू जनवरीको १० मा चीनको वुहानमा पुष्टि भएका थिए । त्यसपछि अप्रिल १ मा यो संख्या १० लाख पुगेको थियो। त्यसपछि प्रत्येक दुई सातामा १० लाख नयाँ संक्रमित थपिएको रोयटर्सले जनाएको छ।

कोरोना संक्रमणले ६ महिनाको अवधिमा गरेको असर गम्भीर फ्लुले एकवर्षको अवधिमा गर्ने असर भन्दा बढी भइसकेको छ। वार्षिक रुपमा ३० देखि ५० लाख मानिसहरू गम्भीर प्रकृतिको फ्लूबाट प्रभावित हुने गरेको अनुमान विश्व स्वास्थ्य संगठनको छ।

कोरोना महामारीका कारण हालसम्म ३ लाख २६ हजारबढी मानिसको ज्यान गइसकेको छ तर वास्तविक संख्या यो भन्दा अझ धेरै हुनसक्ने अनुमान छ। धेरै देशले अस्पताल बाहिर भएका मृत्युको तथ्यांकलाई समावेश नगरेकाले वास्तविक संख्या भनिएभन्दा बढी हुनसक्ने ठानिएको हो।

कोरोनाबाट मृत्यु भएकामध्ये आधाभन्दा बढी संख्या युरोपबाट रहेका छन्। विश्वमा दैनिकरुपमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको भएपनि थुप्रै देशहरूले स्कूल र काम गर्ने ठाउँहरू विस्तारै खोल्न थालेका छन्। यस्तै अमेरिकामा कोरोनाविरुद्ध मानिसमा गरिएको पहिलो खोप परीक्षणले देखाएको सम्भावनाले बजारमा केही वृद्धि देखिएको रोयटर्सले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस