भाद्र ४,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकताका लागि गठन भएका कार्यदलहरुलाई प्रतिवेदन बुझाउन अन्तिम पटक भदौ ७ गतेसम्मको म्याद दिएको छ ।
सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले कार्यदलहरुलाई भदौ ७ गतेसम्म प्रतिवेदन बुझाउन समय दिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘कार्यदलहरुलाई रिपोर्ट प्रस्तुत गर्नका लागि साउन मशान्तसम्मको अवधि दिएका थियौं । अहिलेसम्म कतिपय कार्यदलले रिपोर्ट नदिएकाले अन्तिम पटक भदौ ७ गतेसम्म म्याद दिएका छौं’ उनले भने ‘निर्णय नभएर जुन अवस्थामा छ, त्यही अवस्थामा भदौ ७ गतेसम्म बुझाउनुपर्ने निर्णय भएको छ ।’
अहिलेसम्म पार्टी एकताका लागि प्रदेश स्तरमा गठन भएका कार्यदलको प्रतिवेदन पनि नआएको श्रेष्ठले जानकारी दिए । ‘रिपोर्ट १ र २ बाट आएकै छैन । अरु प्रदेशबाट सामान्यतया आएको छ, तर जिल्ला कमिटीबाट सूची आएको छैन’ उनले भने ।
नेकपाको सचिवालय बैठकले भदौ ८ र ९ गते बस्ने भनेको स्थायी कमिटीको बैठक पनि १९ र २० गतेका लागि सारेको छ ।