भाद्र ५, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज विधान मस्यौदा समिति गठन गर्ने तयारी गरेका छन् ।
पार्टीको विधान परिमार्जनका लागि गठन हुने मस्यौदा समितिको नामवली पनि लगभग टुंगो लागि सकेका कारण आज मस्यौदा समिति गठन हुने सम्भावना छ ।
पार्टी भित्रको आन्तरिक द्वन्द्वका कारण गठन हुन नसकेको मस्यौदा समितिमा बस्नेको नामवली लगभग टुंगिएका कारण देउवाले आज नै समिति गठनको तयारी गरेको पार्टीको उच्च स्रोतले जनाएको छ ।
भदौमा महासमिति बैठक बस्ने गरी गत असारबाटै देउवाले मस्यौदा समिति गठनको तयारी थाल्नु भएको थियो । तर पार्टीको आन्तरिक विवाद र पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले समयमै नाम नदिएका कारण गठनमा ढिलाई भएको स्रोतको दाबी छ । तर, पौडेल समूहले भने १५ दिनअघि नै नाम दिइसकेको दाबी गर्दै आएको छ ।
स्रोतका अनुसार विधान परिमार्जन समितिमा पौडेल समूहबाट दिलेन्द्रप्रसाद बडू, मिनेन्द्र रिजाल, नवीन्द्रराज जोशी र प्रदीप पौडेल रहने सम्भावन छ ।
यस्तै, सभापति समूहबाट संयोजक पूर्णबहादुर खड्का र सदस्यमा मानबहादुर विश्वकर्मा, चित्रलेखा यादव र रमेश लेखकको नाम लगभग निश्चित जस्तै रहेको बताइएको छ ।