उग्र-राष्ट्रवादको दलदलमा देश

Post Thumbnail

मिलन पाण्डे

उग्र–राष्ट्रवादी र अतिवादीहरू मानवीय ह्याकर जस्ता हुन्छन्, उनीहरू आमनागरिकको कमजोरी, डर र रिसमा खेल्छन् 

पार्टीमा बहस चलाउनका लागि केही दिनअघि हामीले एकजना कूटनीतिज्ञसँग ‘एमसिसी’बारे छलफल गर्‍यौँ । एमसिसीको पक्षमा हुनुहुँदो रहेछ, यसैले सुरुमा उहाँ पन्छिन खोज्नुभयो । पक्षमा बोल्यो भने त राष्ट्रघाती भन्छन् भनेर डराउनुभएको थियो । हामीले उहाँमा जुन ‘डर’ महसुस गर्‍यौँ, त्यो डरले हामीलाई अर्को डर पैदा गर्‍यो, अतिवादको । यो लेख त्यही ‘डर’को वरिपरि घुम्नेछ ।

भर्खरैको टेलिभिजन अन्तर्वार्ताको क्रममा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले पनि अहिले ‘एमसिसी’को पक्षमा बोल्दा पैसा खायो वा दलाल भन्दिहाल्ने हुँदा धेरै विज्ञ वा जानकार पन्छिएको आशय व्यक्त गर्नुभएको थियो । भर्खरै एकजना साथीले पठाउनुभएको भिडियोको शीर्षक थियो, ‘पास भएकै दिन देउवा, प्रचण्ड र ओलीलाई लास बनाइदिन्छौँ, हस्ताक्षर गर्ने सांसदहरूको घरमा आगो लाग्छ ।’ यी डर अनि यी गतिविधि सभ्य, विकासोन्मुख समाज तथा तीन पुस्ता लडेर ल्याएको लोकतन्त्रका लागि अशुभ संकेत हो ।

सैद्धान्तिक पृष्ठभूमि : राष्ट्रियता नै त्यस्तो धागो हो, जसले हामी तीन करोड नेपालीलाई बाँध्न सकेको छ । समस्या राष्ट्रियता र राष्ट्रवादमा होइन, उग्र–राष्ट्रवादमा हो, जसले हामीलाई अतिवादतिर धकेल्दै छ । दार्शनिक युभल नोह हरारीले फासीवाद र राष्ट्रियताको भिन्नताबारे आफ्नो मत यो प्रश्नसँगै राखेका छन्– राष्ट्रवादी देश स्विडेन, जापान, स्विट्जरल्यान्ड किन शान्त अनि समृद्ध छ अनि उग्र–राष्ट्रवाद रहेको कंगो, सोमालिया, अफगानिस्तान किन अशान्त अनि गरिब छ ? आज हामीले खोज्नुपर्ने उत्तर पनि यही प्रश्नभित्र लुकेको छ ।

राष्ट्रियताले मेरो देश पृथक् छ अनि देशप्रति मेरो जिम्मेवारी छ भन्छ । उग्र–राष्ट्रवादले मेरो देश उत्कृष्ट छ अनि त्यो पुष्टि गर्न मेरो महत्वपूर्ण भूमिका छ भन्छ । उग्र–राष्ट्रवादले मलाई मेरो देशबाहेक केही मतलब छैन भन्ने भाव विकसित गराउँछ । उग्र–राष्ट्रवादले समाज, विश्व, सम्बन्ध, सह–अस्तित्वलाई नकार्छ । राष्ट्रले माग्यो भने म मर्न पनि तयार छु अनि अरूलाई मार्न पनि तयार छु भन्छ । कहाँ गएर समस्या निम्तिन्छ भने जब यो भावनाले विवेकलाई छेक्छ अनि सत्य र यथार्थलाई बेवास्ता गर्छ । दोस्रो विश्वयुद्धले हामीलाई उग्र–राष्ट्रवादको नमिठो पाठ पढाइसकेको छ ।

प्रायः उग्र–राष्ट्रवादी, लोकरिझ्याइँ गर्ने र अतिवादीहरू मानवीय ह्याकर जस्ता हुन्छन् । उनीहरू आमनागरिकको कमजोरी, डर, रिसमा खेल्छन् । यही भावनालाई बन्धक बनाएर समाजलाई विभाजन गर्दै स्वार्थ पूरा गर्न खोज्छन् । प्रायः अतिवादी आफ्नो अनुहारको दाग छोप्न राष्ट्रियता, धर्म, परम्पराको नकाब लगाउँछन् । कम्प्युटरको दुनियाँजस्तै पहिले भाइरस बनाउँछन्, त्यही भाइरसको एन्टिभाइरस बनाएर बेच्छन् र लाखौँ कमाउँछन् । अर्को महत्वपूर्ण कुरा अतिवादीहरू गाह्रो विषयलाई जात, धर्म, राष्ट्रियताजस्ता विषयसँग जोडेर सजिलो बनाइदिन्छन् । अतिवादीसँग गाह्रो प्रश्नको सजिलो उत्तर हुने गर्छ । गद्दार, दलाल र राष्ट्रघातीमै बहस टुंगिने गर्छ । रोचक कुरा त अतिवादीले आफू अतिवादी भएको पनि देख्न र स्विकार्न सक्दैनन् ।

राष्ट्रवादी–अराष्ट्रवादी : नाकाबन्दीकै कुरा गर्ने हो भने एकातर्फ राष्ट्रियताको नारा लाग्यो अनि अर्कोतर्फ त्यही नाराको मुनिबाट कार्यकर्ता खटाएर पेट्रोल र डिजेलमा कालोबजारी गरी कुस्त कमाए पनि । राष्ट्रियताको नशा यस्तो उग्ररूपमा लागेको छ कि यसको एक डोजले हामीलाई कम्तीमा एक चुनाव पुग्ने भएको छ । सजिलो त के भने हामीले हाम्रा गतिविधिको जवाफदेहिता पनि वहन गर्न पर्दैन । अब के वाइड–बडी विमानको विषय सकियो ? के गोकुल बाँस्कोटा प्रकरण सकियो ? अध्यादेशले देशलाई घात गर्न खोज्यो, के त्यो सकियो ? हिजो तिनै नेता लैनचौरमा छोराछोरीलाई छात्रवृत्ति माग्न जाने, अनि आज त्यही भारतलाई गाली गरेपछि राष्ट्रवादी भइहालिने ? अनि, यी प्रश्न गर्ने नागरिकचाहिँ सरकार गिराउन कसैबाट परिचालित हुने ? स्थिरताको विरोधी हुने ? अराष्ट्रवादी हुने ?

हामीले राष्ट्रियतालाई निकै हलुका बनायौँ । भारतको विरोध गर्नु, अमेरिकाको विरोध गर्नु राष्ट्रवाद होइन । नेपाललाई बलियो बनाउन, नागरिकका निम्ति शिक्षा, स्वास्थ्य, सुरक्षा अनि रोजगारी निर्माण गर्न नेतृत्व लिनु नै २१औँ शताब्दीको राष्ट्रवाद हो । सिमानाको मुद्दामा बोल्नु राष्ट्रवाद हो । सिमानामा आएका नागरिकलाई लाठी नहानी सुरक्षित रूपमा देश भित्र्याउनु पनि राष्ट्रवाद हो । यदि पहिलो मात्र गरिन्छ अनि दोस्रो प्राथमिकतामा पर्दैन भने त्यो खोक्रो राष्ट्रवाद हो । यदि यसबारेमा प्रश्न सोध्नेलाई खुइल्याइन्छ, सिध्याइन्छ भने त्यो अतिवाद हो ।

समस्या नागरिकको तहमा नभएको होइन । प्रधानमन्त्रीको कविता फेसबुकमा पुरानो स्ट्याटस सम्पादन गरेर प्रधानमन्त्रीलाई बदनाम गर्न खोज्ने नागरिकले पनि यो देशमा लोकतन्त्रको मजाक उडाउँदै छन् । राष्ट्रपतिको फोटो कुकुरको टाउकोमा जोड्नु वाक्स्वतन्त्रता होइन, अराजकता हो । हामी आममानिसको तहमा पनि अराजकतातर्फ उन्मुख हुँदै छौँ ।

अतिवादको कारण : हामी अतिवादउन्मुख हुनुमा राज्य प्रणाली नै मुख्य रूपमा दोषी छ । हामीलाई हाम्रो प्रणालीमा विश्वास नै छैन । कानुनको कार्यान्वयन प्रभावकारी छैन । म समस्यामा परेँ भने मलाई राज्यले सहयोग गर्छ वा न्याय पाइन्छ भन्ने विश्वास नै छैन । त्यही कारणले हामी शक्तिलाई पछ्याइरहेका हुन्छौँ । अनि, अर्को कारण रोजगारी छैन, कहाँ जाने दिशा छैन, त्यही भएर पनि हामी मर्न अनि मार्न तयार रहन्छौँ । त्यही क्रममा हामी उग्र–राष्ट्रवादी र अतिवादी भएर निस्किन्छौँ । हामीलाई तथ्य बुझ्न र सुन्न झन्झटिलो लाग्न थाल्छ । तथ्यभन्दा ‘ग्रान्ड डिजाइन’ वा ‘कन्स्पिरेसी थियोरी’मा विश्वास जाग्छ । राष्ट्रवाद सबैभन्दा ठूलो राजनीतिक हतियार बनेको छ । शिक्षा सुधार्छु, स्वास्थ्य सुधार्छु भन्ने राजनीति हाम्रा लागि केटाकेटीको राजनीति लाग्छ । युवा अतिवादमा लाग्नुको पनि कारणमा यो बाटोले केहीलाई छिटो परिचय दिन्छ । हिरो बनाइदिन्छ । आफूभित्रको रिस, डर, कुण्ठा पोख्ने माहोल बनाइदिन्छ । आज राजनीतिक पहुँचसमेत यसमा जोडिएको छ । त्यसैले अतिवाद पनि आज युवाको (कु)लत बन्दै छ ।

हामी जुन संरचनामा छौँ, त्यहाँ सानो गल्ती नगरेका वा नियम नमिचेका कमै मात्र नागरिक हुन्छन् । एउटा मानिसलाई फसाउन त्यति गाह्रो छैन । कुनै घटना वा विषयलाई आफ्नै तरिकाले व्याख्या गरेर अपराधीकरण गरिदिए पुग्छ । केही गल्ती नै नभए पनि आरोप लगाइदिए पुग्छ । आजको राजनीति अनि समाजले त्यही परिस्थितिलाई ‘ब्ल्याकमेल’ गर्न थालेको छ । अघि बढ्न खोज्यो कि आरोप लगाइदियो, खुट्टा तानिदियो । डाक्टर गोविन्द केसीले जब प्रधानन्यायाधीशको जन्ममितिको कुरा उठाए, तब उल्टै उनको जन्ममितिमा प्रश्न उठाइयो । केएफसीमा खाजा खाएको फोटो राखेर बदनाम गर्न खोजियो । उनलाई खुइल्याउन ‘अरिंगाल’ले कुनै कसर छाडेनन् । उनी गोविन्द केसी थिए र टिके । साधारण मानिस यो अवस्थामा कसरी टिक्न सक्छ ? वर्षा राउत राजनीतिज्ञ होइनन् । प्रश्न सोधियो, उनले आफ्नो तरिकाले जनस्तरको सम्बन्ध राम्रो राख्नुपर्छ भनिन् । यति भन्दा जसरी उग्र–राष्ट्रवादी उफ्रिए, यसले समाजमा एउटा डर पैदा गर्‍यो । अब धेरै मानिस बोल्न डराउँदै छन् ।

फोटो फोटोसप गरेर वा भिडियो बनाएर वा आवाज निकालेर जोकोहीलाई सजिलै बदनाम गर्न सकिने भएको छ । अतिवादीले सफाइ दिने मौकासमेत नदिन सक्छन् । अनि को बोल्ने ? किन बोल्ने ? समाजलाई गतिशील राख्न वादविवाद आवश्यक छ तर अहिले हामी ‘विवादै विवाद’तर्फ अग्रसर छौँ । हामी शीर्षक पढेर निष्कर्ष निकाल्ने पुस्तामा परिणत हुँदै छौँ । भित्र जे लेखिएको होस्, मतलबै भएन ।

केपी ओलीले जसरी ठोस काम नगरी राष्ट्रवादको नारामा चुनाव जिते, यसले हाम्रो राजनीतिमा लामो समयसम्म असर गर्नेछ । यसलाई सच्याउनेभन्दा पनि प्रेरणा लिएर त्यही बाटोमा हिँड्न हाम्रो समाज अग्रसर छ । अब पनि केही समय एजेन्डाको राजनीतिभन्दा पनि समाजलाई विभाजन गरेर राजनीति गर्ने नै हाबी हुनेछन् । नयाँ पार्टीहरूले पनि सत्तामा छिटो पुग्नका लागि धर्मको आड लिन थालिसके । छोटो भर्‍याङ रोजे । यो अतिवादमोहले हामीलाई खानेवाला छ ।

समाधान : जहाँ नागरिक बलिया हुँदैनन्, स्वतन्त्र हुँदैनन्, विवेकी हुँदैनन् त्यहाँको राष्ट्रियता बलियो हुनैसक्दैन । केही दशकयता हाम्रा लागि राष्ट्रियता भनेकै भारतलाई गाली गर्नु भएको छ । एउटा देशको शरणबाट अर्को देशको शरणमा लम्पसार पर्नु राष्ट्रियता बनेको छ । राष्ट्रियता भनेको भारत वा चीनको बैसाखीमा उभिनु होइन । आफ्नै खुट्टामा उभिनु हो ।

जबसम्म प्रणाली विकास गर्दैनौँ, हामी केही नेतामा निर्भर रहन्छौँ । आफूलाई लागेको सत्य बोल्न सक्दैनौँ । केही दिनअघि बिबिसीमा अन्तर्वार्ता दिँदै एक अमेरिकी प्रहरीले राष्ट्रपति ट्रम्पलाई केही सकारात्मक काम गर्न नसके मुख बन्द गर्न भनिदिए । त्यो साहसको पछाडि व्यक्ति होइन, प्रणाली बलियो भन्ने गहिरो सन्देश थियो । अतिवादको बाघले हाम्रो लोकतन्त्रलाई खानुअघि नै हामीले यसलाई रोक्न जरुरी छ । फरक मतको सम्मान गर्ने संस्कारको विकास गर्न हाम्रो शिक्षा अनि समाजले जिम्मेवारी लिन जरुरी छ । साथै, हामीले समाजमा समानुभूति कसरी कायम राख्ने भन्ने बुझ्न र सिक्न आवश्यक छ ।

अब युवाले समाधानको नेतृत्व गर्नुपर्छ । अब गुणस्तरीय शिक्षा, स्वास्थ्य, सुरक्षा अनि रोजगारीका निम्ति युवा जाग्नुपर्छ । अतिवादको विकल्प फेरि अर्को अतिवाद होइन । स्वस्थ बहसको वातावरण निर्माण गर्नु र फरक मतको सम्मान नै हो । साथै, देशमा ‘वाक्–स्वतन्त्रता’ भनेको के हो भन्ने बुझाउन एउटा बहस नै जरुरी देखिएको छ । धेरै नागरिकलाई आफ्नो अधिकार अनि जिम्मेवारी थाहा छैन । धेरैले गलत प्रयोग गर्दै छन् । हाम्रो नेतृत्व गर्नेभन्दा पनि बोल्ने मानसिकताबाट प्रताडित छ । खोक्रो उग्र–राष्ट्रवादबाट संक्रमित छ । तसर्थ, हामीले यो पुस्ताकै नेतृत्वको विकल्प छैन ।

निष्कर्षमा : नाकाबन्दीका वेला थियो । वसन्तपुरनजिकै स्याउ किन्न गएको थिएँ । एकजना इन्डियन दाइले साइकलमा स्याउ ल्याउँदै हुनुहुन्थ्यो । स्याउ हेर्न थालेपछि ‘हजुर, यो इन्डियाको स्याउ होइन, हाम्रो मुस्ताङको स्याउ हो’ भन्नुभयो । सायद त्यो स्याउ मुस्ताङको थिएन तर ती दाइले मेरो राष्ट्रियतालाई मज्जाले उपयोग गरेजसरी हाम्रा नेताले दुरुपयोग गर्दै छन् । फिल्मका खलनायक डरलाग्दा भए पनि देशका खलनायक डरलाग्दा देखिँदैनन् । अनुहार पनि चलचित्रका खलनायकजस्तो खराब हुँदैन । सफा लुगा अनि चिल्ला अनुहारमा सजिएका खलनायकहरू अतिवादको विष समाजमा रोपेर आफ्नो रोटी सेक्न उद्यत देखिन्छन् । दुःखको कुरा हाम्रो समाजमा ठूलो स्वरले सही स्वरलाई दबाउन थालिएको छ ।

जब अतिवाद हाबी हुन्छ, तब अधिकांश नागरिक मौन रहन्छन् र ‘सेल्फ सेन्सरसिप’तिर जान्छन् । किन बोल्ने, किन लफडामा पर्ने भन्ने भावना विकसित हुन्छ । आरोप लगाउन, बदनाम गर्न सजिलो भएकाले हाम्रो समाजमा ‘डर’ पैदा भएको छ । डरको माहोल बन्नु लोकतन्त्रमाथि कालो बादल मडारिनु हो । उग्र–राष्ट्रवादको बाघले खान्छ भन्ने डरले धेरै नागरिक मौन छन् । यो ‘डर’को विषय अब राजनीतिको चासो अनि चिन्ताको विषय हुन जरुरी छ ।

लोकतन्त्रमा प्रश्न गर्न पाइन्छ, पाउनुपर्छ । विचार निर्धक्क राख्न पाउनुपर्छ । यदि तर्कमा हार्दा, विदेशी दलाल वा डलरवादीको आरोप लगाएर बहसको अन्त्य गरियो भने त्यो अतिवाद हो । जो यो स्तरमा झर्न सक्दैनन्, ती हार्ने वा थाक्ने माहोल बन्दै छ । अहिले राष्ट्रवादको नाउमा फरक मतलाई दुर्व्यवहार गर्न थालिएको छ । विपक्षीको मुख थुन्दै घाँटी ङ्याँक्न थालिएको छ । हामी विवेकशून्य समाजतर्फ उन्मुख हुँदै छाैं ।

 

ताजा अपडेट

खोजी गर्नुहोस