गण्डकी प्रदेशको बजेट: कोरोना कोषमा २ अर्ब ९१ करोड !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ १, सोमबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार १,पोखरा । गण्डकी प्रदेश सरकारले कोरोना भाइरस महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँको कोष बनाउने घोषणा गरेको छ ।

सरकारले कोभिड–१९ बाट मारमा परेकाहरुको रक्षाका लागि १ अर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोषको पनि घोषणा गरेको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बजेट प्रस्तुत गर्दै २ अर्ब रुपैयाँ बराबरको कोरोना विशेष कार्यक्रम ल्याउन लागेको घोषणा गरेका हुन् ।

कोरोनाको मारमा परेका व्यवसायी र रोजगारी सिर्जनाका लागि मापदण्ड बनाएर कोष सञ्चालन गर्ने अर्थमन्त्री गुरुङले बताए । उद्योग व्यवसायलाई जोगाउन र टिकाउन मापदण्डका आधारमा कोषको रकम खर्च गर्ने उनले बताए ।

कोरोनाका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएकालाई रोजगारी दिन सरकारले १८ करोड ४२ लाख रुपैयाँ बिनियोजन गरेको छ । कोरोनापछि स्वरोजगार बनाउन व्यावसायिक तालिमका लागि १९ करोड रुपैयाँ विनियोजन गरेको गुरुङले बताए ।

कोभिड लक्षित कृषि कार्यक्रमका लागि १८ करोड र पर्यटनमा ५ करोड रुपैयाँ बिनियोजन भएको छ । सार्वजनिक खर्चमा मितव्ययिता अपनाउँदै उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्ने गण्डकी प्रदेश सरकारले घोषणा गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस