च्याम्पियन्स लिगका खेल सुचारु हुने

असार ४, काठमाण्डौ । युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले कोरोना भाइरसका कारण स्थगित जारी सिजनको च्याम्पियन्स लिगका खेलहरु सुचारु गर्ने मिति र स्थान तय गरेको छ । कोरोनाका कारण स्थगित सिजनका खेल आगामी अगस्ट ७ तारिखबाट सुचारु गरिनेछ । त्यसैगरी, युइएफएले अन्तिम आठदेखिका सबै खेल पोर्चुगलको लिस्बन सहरमा आयोजना गर्ने निर्णय पनि गरेको छ । प्रतियोगितामा हाल अन्तिम १६ का चार खेल बाँकी छन् । अन्य चार टोली भने अर्को चरणमा पुगिसकेका छन् । युइएफएले यसपटक अन्तिम आठदेखि होम एन्ड अवे गरी दुई लेग नखेलाई एउटै मात्रै म्याच खेलाउने निर्णय पनि गरेको छ ।

प्रतियोगिताको फाइनल खेल अगस्ट २३ तारिखमा आयोजना हुनेछ । युइएफएले अन्तिम १६ का बाँकी चार खेल कहाँ खेलाउने भन्ने विषयमा पनि निर्णय गरेको छैन । अन्तिम १६ मा अब दोस्रो लेगका चार खेल बाँकी छन् । जसमा म्यानचेस्टर सिटी विरुद्ध रियल मेड्रिड, चेल्सी विरुद्ध बार्यन म्युनिख, युभेन्ट्स विरुद्ध लियोन र बार्सिलोना विरुद्ध नापोलीको खेल हुन बाँकी छ । यसअघि चार टोली भने अर्को चरणमा पुगिसकेका छन् । जसमा आरबी लेइप्जिग, एथ्लेटिको मेड्रिड, पिएसजी र एट्लान्टा रहेका छन् ।

यसअघि सेमिफाइनल र फाइनल खेल टर्कीको इस्तानबुल सहरमा आयोजना गर्ने तयारी थियो । तर, कोरोना भाइरसका कारण इस्तानबुल सहरलाई प्रतियोगिता आयोजना गर्न कठिन पर्ने भएपछि समझदारीमा प्रतियोगिताको स्थान नै सार्ने निर्णय भएको हो ।

संम्बन्धित समचार

Leave a Reply