बाँकेमा एउटै वडाका ४१ जना निको भए, आइसोलेसन सेन्टर रित्तिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ५, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ५, नेपालगञ्ज । बाँकेमा शुक्रबार एउटै वडाका ४१ जना कोरोना सङ्क्रमितहरू निको भएर घर फर्किँदैछन् । उनीहरू सबै जानकी गाउँपालिकाको वडा नंं १ का बासिन्दा हुन् । स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, बाँकेको जानकी गाउँपालिकाको जोगागाउँ माध्यमिक विद्यालय आइसोलेसनका रहेका जानकी १ का ४१ जना संङ्क्रमितहरूलाई सरकारको मापदण्ड बमोजिम जाँच प्रक्रिया पूरा गरी निको भएपछि डिस्चार्ज गरिएको हो ।

सङ्क्रमण पुष्टि भएको १६ दिनपछि सरकारको नयाँ मापदण्ड अनुसार निको भएकोले उनीहरूलाई डिस्चार्ज गरिएको फोकल पर्सन श्रेष्ठले बताए । उनका अनुसार हालसम्म जिल्लामा सङ्क्रमण पुष्टि भएका ३२७ मध्ये दुई जनाको मृत्यु भइसकेको छ भने २५० जना निको भएर घर फर्किसकेका छन् ।
अब ७५ जना मात्र बाँकेका विभिन्न आइसोलेसन अस्पताल र सेन्टरहरूका रहेको पनि श्रेष्ठले बताए । बाँकेका सङ्क्रमितहरू निको भएर फर्किने क्रम बढ्दैगएकोले जिल्लाका आइसोलेसन सेन्टरहरू पनि रित्तिन थालेका छन् । क्वारेन्टाइनहरूमा पनि अब दुई हजार जना मात्र रहेका छन् ।
भारतबाट आउनेहरूको सङ्ख्या पनि निकै घटेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभयो । उनले बिहीबार ३९८ जना मात्र भारतबाट नेपालगञ्ज नाका भएर फर्किएको बताए । उनका अनुसार एक साताअघिसम्म नेपालगञ्ज नाकाबाट फर्किनेहरूको सङ्ख्या १५ सय देखि दुई हजार सम्म रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस