बाग्मती प्रदेशमा कोरोना सङ्क्रमण बढ्दो, परीक्षणको दायरा बढाउने तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ११, बिहिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार ११, हेटौँडा ।  कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै यस प्रदेशमा परीक्षणको दायरा बढाउन थालिएको छ । बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता डा पुरुषोत्तमराज सेढाईले कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै परीक्षणको दायरा बढाउने काम भइरहेको बताए ।

कोरोना रोकथाम र नियन्त्रण गर्न क्वारेन्टाइन र आइसोलेसनको शय्या सङ्ख्या र गुणस्तर वृद्धि एवं अन्य व्यवस्थापन गरिएको उनले जानकारी दिए । उनले भने, विदेशबाट आएकाहरूको स्थानीयस्तरमा आरडीटी परीक्षणसँगै आरटी–पीसीआर परीक्षण हेटौँडा, भरतपुर, धुलिखेल र काठमाडौँ उपत्यकाका गरी आठवटा प्रयोगशालमा भइरहेको छ ।

बाग्मती प्रदेशमा गत जेठ ९ गतेसम्ममा सात हजार ७७५ स्वाबको नमुना पीसीआर विधिबाट परीक्षण गरिएकोमा कोभिड–१९ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २८ रहेको थियो । यस्तै आरडीटी किटबाट २१ हजार ७१२ जनाको परीक्षण गरिएकोमा ४०६ जनाको पोजेटिभ रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी चार हजार ४३६ क्वारेन्टाइन शय्या सङ्ख्या रहेकोमा ३६७ जना बसेको, ९९५ आइसोलेसन शय्या रहेकोमा ४९ जना बसेको र होम क्वारेन्टाइनमा २८७ जना बसेका थिए । एक महिनाको अवधिमा प्रदेशका जिल्लाहरूमा सङ्क्रमित बढेर मङ्गलबारसम्ममा ३२९ सङ्ख्या पुगेको छ भने तीमध्ये निको भएर ८६ जना घर फर्किएका र २३९ जना उपचाररत छन् ।

उता स्वाब सङ्कलनका लागि प्रयोग हुने भीटीएम र कोरोना प्रयोगशालमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्न किटलगायतका स्वास्थ्य सामग्री अभावमा परीक्षण प्रभावित बन्दै गएको बताइएको छ ।
पीसीआर परीक्षणका लागि स्वाब सङ्कलनको चापअनुसार तीव्र गतिमा प्रयोगशालामा परीक्षण हुनुपर्नेमा जनशक्ति र किट अभावलगायतका समस्याले परीक्षण रोकिने गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस