भाद्र ९,काठमाडौँ । नेपाल एयरलाइन्सलाई दक्षिण कोरियामा सेवा थाल्न हवाई सुरक्षा परीक्षण (सेफ्टी अडिट) को ‘फलामे ढोका’ पार गर्नुपर्ने भएको छ । नेपाली एयरलाइन्सहरु युरोपियन युनियन (ईयू)को कालोसूचीमा परेका कारण कोरियाले नेपाल एयरलाइन्ससहित नेपालको सेफ्टी अडिट गर्न चाहेको छ ।
यसलाई उड्ययन अधिकारीले नेपाली हवाई सेवाको ‘आइरन गेट’ मानेका छन् । किनभने कोरियाको हवाई सुरक्षा नीति संसारकै कडा मानिन्छ ।
दुईवटा वाइडबडी एयरबस ल्याएपछि नेपाल एयरलाइन्सले जापान र कोरिया उडान गर्न चाहे पनि ईयूको कालोसूचीका कारण नै समस्या भएको छ ।
कोरियामा नेपालले उडानका लागि उडान अनुमति पाएको छैन । युरोपियन युनियनको कालोसूचीका कारण उडान अनुमति पाउन केही समय लाग्ने निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले जानकारी दिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम कोरियाको हवाई सुरक्षा नीति विश्वकै सबैभन्दा कडा हुने बताउँछन् । अब कोरियाली उड्डयन अधिकारीको टोली एकपटक नेपाल आएर नेपाल एयरलाइन्सको सेफ्टी अडिट गरेपछि मात्रै अनुमति पाइने अवस्था छ ।
‘कोरियामा अनुमति पायौं भने ईयूको कालोसूचीबाट निस्कन पनि सहज हुन्छ । यसले हामी सुरक्षामा कमजोर छैन भन्ने स्पष्ट सन्देश दिन्छ,’ गौतमले भने ।
कोरियाको उड्डयन नियामक निकायको टोली नेपाल एयरलाइन्सको सुरक्षा अडिट गर्न नेपाल आउन तयार पनि भएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार अडिटको गाइडलाइन्स कोरियाले पठाएको छ । त्यो गाइडलाइन्स नेपाल एयरलाइन्समा पुगिसकेको छ । यसअनुसार अगस्टको अन्तिममा कोरियाली टोली नेपाल आउने तय भएको छ ।