नागढुङ्गा सुरुङमार्ग : कामदार घर जाँदा निर्माण ठप्प,तोकिएको मितिमा निर्माण नहुने आशंका !

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७७ अषाढ १९, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार १९, काठमाण्डौ । नागढुङ्गास्थित नेपालको पहिलो सुरुङमार्ग निर्माणको काम अहिले ठप्प छ । कोरोना भाइरस कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी राखेको बन्दाबन्दीले सुरुङमार्ग निर्माण ठप्प भएको हो । सो आयोजनाको निर्माण शुरु भएको केही दिनमा नै बन्दाबन्दीका कारण कार्यरत विदेशी र नेपाली सबै घर फर्किएपछि निर्माणको काम ठप्प भएको छ । निर्माण कम्पनीले आवश्यक सबै सामग्री निर्माणस्थलमा ल्याए पनि जनशक्तिका अभावमा काम हुन नसकेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जानकारी दिएको छ ।

सरकारले ४२ महिनामा निर्माण सक्ने गरी हाज्मा आन्दो कर्पोरेशनलाई निर्माणको जिम्मेवारी दिएको छ । जापान सरकारको ऋण सहयोगमा निर्माणाधीन सो आयोजनामा लामो समयसम्म काम नहुँदा निर्धारित समयमा निर्माण सम्पन्न नहुने देखिएको महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताएका छन् ।

उनका अनुसार निर्माणस्थलमा अहिले १०÷१२ स्थानीय कामदार मात्रै छन् । उनले भने,“पाँचसात सय जना काम गरिरहेकामा १०÷१२ जनाले के गर्नु छ र ?” सरकारले गत चैत ११ मा बन्दाबन्दी लागू गरे पनि कम्पनीले निर्माणको काम रोकेको थिएन । स्थानीयवासीले विरोध गरेपछि काम रोकेर कामदारलाई उनीहरुको घरघर फर्काइएको प्रमुख थापाले बताएका छन् ।

निर्माण शुरु भएको पाँच छ महिनाको अवधिमा कम्पनीले माटो सम्याउने, आवश्यक सामग्रीको व्यवस्थापन गर्ने, जनशक्ति ल्याउनेलगायत काम अघि बढाएको सडक विभागले जनाएको छ । कम्पनीले अहिले आयोजनास्थलसम्म पुग्ने पहुँच सडक निर्माण शुरु गरिसकेको छ । सोही आयोजनाअन्तर्गत काठमाडौँतर्फ बलम्बुसम्म दुई दशमलव पाँच किमी र धादिङतर्फ ५०० मिटर सडक निर्माण हुँदैछ । आयोजना हेर्ने गरी शिविर कार्यालय निर्माण र निर्माणस्थललाई पर्खालले घेर्ने काम भइसकेको छ ।

सुरुङको कूल लम्बाइ दुई दशमलव सात किमिको हुनेछ । आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुई सुरुङ निर्माण हुनेछ । सो स्थानमा बसपार्क, तरकारी सङ्कलन केन्द्र लगायत कक्ष हुने बताइएको छ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेँसी नगरपालिकामा नै हस्तान्तरण हुनेछ । केन्द्रबाट सेवा शुल्क उठाएर नगरपालिकाले आर्थिक उपार्जन गर्ने र त्यसैको व्यवस्थापनमा खर्च गर्ने गरी योजना बनाइएको थियो ।
आयोजना सम्पन्न गर्न रु २२ अर्ब लाग्नेमा जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण महाशाखाले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस