असार २९,म्याग्दी । अविरल वर्षासँगै आएको बाढी पहिरोमा परेर म्याग्दीमा ज्यान गुमाउनेको सङ्ख्या २८ पुगेको छ । रघुगंगा गाउँपालिका–६, ठाडाखानी, धवलागिरी–६, मराङ र मालिका–७, विममा गएको बाढी तथा पहिरोमा परेर बेपत्तामध्ये हिजो थप एक जनाको शव भेटिएसँगै मृतकको संख्या २८ पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
आइतबार मराङका खिमबहादुर जुग्जालीको शव भेटिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले जानकारी दिनुभयो । यसअघि शनिबार २७ जनाको शव भेटिएको थियो । बाढी र पहिरोमा परेर मालिका–७, बिमकी एलिसा केसी, धवलागिरी–६, मराङ (कल्लेनीका) जनिमा केसी, सबिन पुन र दुखुखोलामा बेपत्ता मालिका–६, दरबाङकी गीता रोका भने अझै नभेटिएको प्रहरी नायव उपरीक्षक कुँवरले बताए ।
पहिरोमा परेर घाइते भएका दुईजना गर्भवतीसहित १३ जनालाई प्रभु एअर र नेपाली सेनाको एनआई सेभेन्टिन हेलिकोप्टरमार्फत उद्धार गरेर बेनी, पोखरा र काठमाण्डौमा उपचारका लागि पठाइएको छ । ओमकुमारी शान्ति कोष र जीसी ग्रुपका अध्यक्ष नारायण जिसीको पहलमा प्रभु एअरको हेलिकप्टरमा घाइते र गर्भवतीको उद्धार गरिएको थियो ।
धवलागिरी–६ को मराङ, कल्लेनी, राम्चे र रिखा तथा मालिका–७ को विम, दुले र नुर्बाङमा पहिरो गएको हो । पहिरोमा परेर घाइते भएका ६ जना बेनी अस्पतालमा उपचारपछि घर फर्किएका छन् । पहिरोबाट मराङमा २०, विममा १० र ताकममा पाँचवटा घरमा भौतिक क्षति पुगेको भनिए पनि बाढी पहिरोबाट अधिकांश घर तथा गोठमा क्षति पुगेको जनाइएको छ । पहिरोबाट ध्वस्त भएका घरहरुको तथ्याङ्क सङ्कलनको काम सुरु भएकाले एकिन तथ्याङ्क भने अझै आइनसकेको प्रहरीले जनाएको छ ।
अहिले पहिरोबाट विस्थापित तथा अलपत्रको उद्धार गरेर सामुदायिक भवन तथा विद्यालय र आफन्तको घरमा व्यवस्थापन गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । म्याग्दीमा बाढी पहिरोबाट धवलागिरीका ५ सय ९० जना, मालिकाका १ सय ९६ जना, रघुगंगाका ८५ र बेनी नगरपालिकाका २५ जनासहित जिल्लाभर कुल ८ सय ९६ जनालाई सुरक्षित स्थानमा राखिएको उनले बताए ।