भाद्र १२, काठमाडौं । विश्वको सर्वाधिक चर्चित म्यागेजिन फोर्ब्सले नेपालका टप १० धनी व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । फोर्ब्सले नेपालका सर्वाधिक धनीहरुको नाम र सम्पत्ति विवरण सहित पेश गरेको छ । जसमा पहिलाे नम्बरमा अर्बपति विनाेद चौधरीदेखि दशाैं नम्बरमा पूर्वराजा ज्ञानेन्द्र शाहसम्म अटाएका छन् ।
काे सँग कति छ सम्पत्ति ?
१) बिनोद चौधरीः फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको विश्वका अरबपतिहरुको सूचीमा नेपालको तर्फबाट नाम अटाएका पहिलो व्यक्तिका रुपमा बिनोद चौधरी रहेका छन् । उनी विश्कका अरबपतिहरुको सूचीमा १३४२ औँ नम्बरमा रहेका छन् ।
नेपालका धनी व्यक्तिहरुको सूचीमा बिनोद चौधरी पहिलो नम्बरमा रहेका छन् । उनको कुल सम्पत्ति १.२ बिलियन अमेरिकी डलर रहेको छ । हाल चौधरी ग्रुपको अध्यक्ष रहेका उनको स्वदेश र विदेशमा गरी ८० वटा कम्पनीहरु रहेका छन् ।
२) शेष घलेः गैर आवासीय नेपाली संघ (एनआरएन) का निवर्तमान अध्यक्ष शेष घले फोर्ब्सले जारी गरेको नेपालका धनी व्यक्तिहरुको सूचीमा दोस्रो नम्बरमा रहेका छन् । मेलबोर्न इंष्टिच्युट अफ टेक्नोलोजी का सीईओ रहको घलेको कुल सम्पत्ति २६५ मिलियन डलरभन्दा बढी रहेको छ । उनी अष्ट्रेलियाका ९९ औँ धनी ब्यक्तिका रुपमा फोर्ब्समा सूचीकृत भएका छन् ।
३) उपेन्द्र महतोः नेपालको सर्वाधिक धनी व्यक्तिको सूचीमा उपेन्द्र महतो तेस्रो नम्बरमा रहेका छन् । इलेक्टेनिक व्यापारीका रुपमा रहेका महतो हाल रुसको भोरोनेजमा टेलिभिजन कारखाना संचालन गरिरहेका छन्, जसले बार्षिक एक मिलियन टेलिभिजन सेट उत्पादन गर्दै आएको छ । उनको कुल सम्पत्ति २५० मिलियनदेखि १ बिलियन अमेरिकी डलरसम्म रहेको छ ।
४) अजय सुमार्गीः मकवानपुरको हेटौडामा जन्मिएका सुमार्गी साना व्यवसायबाट एक्कासी माथि पुगेर धेरै धनसम्पत्ति आर्जन गर्ने व्यक्तिका रुपमा चिनिन्छन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निकट सहयोगी समेत रहेका उनी नेपालको चौथो धनी व्यक्तिका रुपमा फोब्र्समा सूचीकृत भएका छन् । मुक्तिश्री प्राईभेट लिमिटेड मार्फत अनेक कम्पनी संचालन गरिरहेका उनीसँग २०० मिलियन डलर भन्दा बढी सम्पति रहेको छ ।
५) आदित्य झाः जनकपुरमा जन्मेका आदित्य झा नेपालका सबैभन्दा धनी व्यक्तिहरुको सूचीमा पाँचौँ नम्बरमा रहेका छन् । गैर आवासीय नेपालीका रुपमा रहेका उनी क्यानडा पुगी स्थापित ब्यवसायी बनेका छन् । व्यवसायि, समाजसेवी तथा परोपकारी ब्यक्तिका रुपमा चिनिएका झा को कुल सम्पत्ति १०० मिलियन डलर बराबर रहेको छ ।
६) जीवा लामिछानेः गैरआवासीय नेपाली जीवा लामिछाने रुसमा टेक्नो ट्रस्ट नामक टिभी कम्पनी सञ्चालन गरी रुसी बजारमा ईल्सन ब्राण्डको एलसीडी टेलिभिजनको ब्यापार गर्दै आएका छन् । उपेन्द्र महतोसँग मिलेर काम गरेका लामिछाने नेपालका छैठौँ धनी व्यक्तिका रुपमा सूचीकृत भएका छन् । उनको कुल सम्पत्ति ९२ मिलियन बराबरको सम्पति रहेको फोर्ब्सले जनाएको छ ।
७) पशुपति शमशेरः नेपालको सातौँ धनी व्यक्तिका रुपमा फोब्र्समा सूचीकृत भएका पशुपति शमशेर राणा कुनै समय राजाभन्दा पनि धनी व्यक्तिका रुपमा चिनिन्थे । राणा खलकबाट राजनीतिमा छाएका उनले पूर्व भारतीय राजपरिवारकी छोरी बिहे गरेर ल्याँउँदा २५ हजार मिलियन रुपैयाँ दाइजो स्वरुप ल्याएका थिए । उनीसँग ८४ मिलियन डलर बराबरको सम्पति रहेको छ ।
८) बलराम चेन्राईः हडकङमा बसेर ब्यापार ब्यवसाय गर्ने बलराम चेन्राई रियल स्टेट र ईलेक्ट्रोनिक्स ब्यवसायमा जमेका नेपाली मूलका ब्यवसायी हुन् । नेपालको ओखलढुंगामा जन्मिएका उनी आफ्ना बेलायती लाहुरे बुबासँगै हङकङ गएका थिए । उनीहसँग ७० मिलियन अमेरिकी डलर बराबरको सम्पति रहेको फोर्ब्सले उल्लेख गरेको छ ।
९) राजेन्द्र खेतानः खेतान परिवारले नेपालमा शताब्दीऔँ देखि व्यापार व्यवसाय गर्दै आएको छ । खेतान समूहको नेपालमा १३ वटा कम्पनीहरुको स्वामित्व रहेको जनाइएको छ । उनी लक्ष्मी बैंकको अध्यक्ष समेत रहेका छन् । उनीसँग ६२ मिलियन डलरको सम्पति रहेको उल्लेख गरिएको छ ।
१०) ज्ञानेन्द्र शाहः सन् २००१ देखि २००८ सम्म नेपालमा शासन गरेका पूर्व राजा ज्ञानेन्द्र शाह नेपालका दशौं धनी ब्यक्तिमा फोर्ब्समा सूचीकृत भएका छन् । उनीसँग १७ वटा कम्पनीको शेयर रहेको छ । उनी नेपालका धनीहरु मध्येमा परेका छन् । उनीसँग ५८ मिलियन अमेरिकी डलर बराबरको सम्पति रहेको फोर्ब्सले जनाएको छ ।