भाद्र १२,काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्राकृतिक, साँस्कृतिक एवं गुरिल्ला पदयात्राको अनुपमस्थल भूमे गाउँपालिकालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्ने बताएका छन ।
भूमे गाउँपालिकाद्वारा प्रकाशित ‘भूमे दर्पण एवं वृत्तचित्र’को सोमबार शुभारम्भ गर्दै सभामुख महराले राजनीतिक परिवर्तनको जगमा उभिएर अब जनताको आर्थिक एवं सामाजिक रुपान्तरण गर्न सबै केन्द्रित हुनुपर्ने बताए । उनले भने, “रुकुम (पूर्व)को आर्थिक समृद्धि पर्यटन प्रवद्र्धनले नै गर्छ, यसका लागि सरकारले थप लगानी बढाउनुपर्छ । ”
राजनीतिक दृष्टिकोणले भूमे गाउँपालिकामा रहेका लावाङ र चुनवाङस्थल ऐतिहासिक रहेको उनको भनाइ थियो । सरकारले रुकुम, रोल्पा, म्याग्दी र बाग्लुङलाई जोडेर मध्यपहाडी क्षेत्रमा गुरिल्ला पदमार्गका रुपमा विकसित गर्न थालेको छ । भूमेका अधिकांश बस्तीमा मगर समुदायको बसोबास छ । विमोचित पुस्तिकामा भूमेको परिचय समेटिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले गुरिल्ला पदमार्गलाई बहुवर्षीय योजनामा समावेश गरी पर्यटन प्रवद्र्धनको काम भइरहेको बताए । उनले भूमेमा रहेको गणतन्त्र सङ्ग्रहालयलाई थप प्रवद्र्धन गर्न वजेट विनियोजन गरिने बताए।
भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगर तथा उपाध्यक्ष मनकुमारी बुढा विष्टले मगर संस्कृतिको धनीका रुपमा रहेको गाउँपालिकालाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको बताए ।