पर्सामा थप १७ जनामा कोरोना संक्रमित थपिए ! अधिकांशको ट्राभल हिस्ट्री छैन

Post Thumbnail

दिपु वर्णवाल                                  

साउन ८,वीरगञ्ज । पर्सामा थप १७ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । विभिन्न स्थानका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

२ चिकित्सक र २ उपचाररत विरामीसहित जिल्लामा बुधबार राती थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बस्नेतले बताए । सङ्क्रमितहरु १५ वर्षदेखि ७५ वर्षसम्मका १३ पुरुष र ४ महिला रहेको उनले जानकारी दिए ।

बस्नेतले थपिएका केहि सङ्क्रमितहरुको ट्राभल हिस्ट्री समेत नभएको बताउँदै दुख व्यक्त गरे । ‘अधिकांशको ट्राभल हिस्ट्री छैन,’ बस्नेतले भने, ‘कतिपय लक्षणसहितका सङ्क्रमित देखिएकोले निकै गम्भिर बन्नुपर्ने अवस्था सृजना भएको छ ।’

उनले देशभरी कोरोना सङ्क्रमितको सङ्ख्या नघटेको दावी समेत गरेका छन् । ‘वास्तवमा देशभरी कोरोना संक्रमण घटेको होइन, परीक्षणको दायरा घटेकोले संक्रमितको संख्या घटेको जस्तो देखिएको मात्र हो,’ बस्नेतले आफ्नो फेसबुक पोष्टमा लेखेका छन्, ‘पेड टेस्ट शुरू नगरूञ्जेल पर्सामा पनि संक्रमित सबै निको हुँदै गरेकोले २ जना मात्र निको हुन बाँकी रहेको अवस्था थियो तर पर्सामा पेड टेस्टसँगै विभिन्न व्यक्तिहरूले स्वेच्छाले जाँच गर्न थालेपछि र्यान्डम टेस्ट जस्तै हुन थालेकोले कोरोना संक्रमित ठूलो संख्यामा देखापर्दै जानुले यसको पुष्टि गरीरहेको छ ।’

बस्नेतले यस्तो अवस्थामा लकडाउन अन्त्य हुँदा सबैतिर बढेको भिडभाडले ठुलो खतरा निम्त्याइरहेको भन्दै चाँसो व्यक्त गरेका छन् । ‘हामीहरू अहिले पनि कोरोना संक्रमणको उच्च जोखिममै छौं, बस्नेतले लेखेका छन्, ‘तसर्थ भिडभाडमा नजाऔं, स्वास्थ्य र सुरक्षाका सबै शर्त र मापदण्डहरूको अनिवार्य रूपमा पालना गरौं, कोरोनाबाट आफू बचौं र अरूलाइ बचाऔं ।’

ताजा अपडेट

खोजी गर्नुहोस