बिम्स्टेक मन्त्रीस्तरीय बैठक : समझदारीपत्र र काठमाडौं घोषणापत्रको टुंगो लाग्ने !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ भाद्र १३, बुधबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र १३, काठमाडौं ।बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक)को शिखर सम्मेलनको पूर्वाधमा मन्त्रीस्तरीय बैठक बस्न लागेको छ।

शिखर सम्मेलनस्थल सोल्टी होटलमा बुधबार बिहान साढे ९ बजे सुरु हुने बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्नेछन्।

सात देश सदस्य रहेको बिम्स्टेकको मन्त्री स्तरमा यो १६औँ बैठक हो। बैठकमा भाग लिनका लागि सदस्य राष्ट्रका परराष्ट्र, बाह्य मामिला तथा विदेशमन्त्रीको सहभागिता रहनेछ। सदस्य राष्ट्रका मन्त्रीहरूले आजको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।

मन्त्रीस्तरीय बैठकमा मंगलबार बसेको बिम्स्टेकका वरिष्ठ पदाधिकारी (सचिवस्तरीय)को बैठकले प्रस्ताव गरेको प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम रहेको छ।

मन्त्रीस्तरीय बैठकमा बिम्स्टेकका महासचिव शहिदुल इस्लामले प्रतिवेदन प्रस्तुत गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिएका छन्।

मन्त्रीस्तरीय बैठकले शिखर सम्मेलनमा गरिन लागेको समझदारी पत्रलाई अन्तिम रुप दिने बताइएको छ।

त्यसैगरी, बैठकले काठमाडौं घोषणापत्रको मस्यौदालाई पनि आजको बैठकले अन्तिम रुप दिनेछ भने बैठकका कार्यसूची पारित गर्नेछ।

मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाउन बङ्गलादेशका विदेशमन्त्री अबुल हसन महमुद अलि, भारतका बाह्य मामिला राज्यमन्त्री भि. के सिंह, म्यान्मारका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी सङ्घीय मन्त्री क्याव तिन, श्रीलङ्काका विदेश राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय र भुटानका विदेश सचिव सोनाम छोङले काठमाडौं आइपुगेका छन्।

बिम्स्टेकको शिखर सम्मेलनमा सहभागिता जनाउनका लागि सदस्य राष्ट्रका प्रमुख तथा कार्यकारी प्रमुख काठमाडौं आउने क्रम जारी रहेको छ। भोलि र पर्सी काठमाडौंमा सम्मेलन हुँदैछ।

सम्मेलनका लागि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको गृहमन्त्रालयले जानकारी दिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस