भाद्र १३,काठमाडौँ । १८ औं एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङतर्फको पुरुष क्रस कन्ट्रीमा रजत पदक जितेको छ ।
नेपाल स्वर्ण पदक जित्नबाट जापानसँग २७ अंकले पछि पर्दै रजत पदक जितेको हो । नेपालले कुल ११ हजार ३६४ अंक ल्याउन सफल भयो भने पहिलो भएको जापानले ११ हजार ३९१ अंक प्राप्त गरेको हो ।
क्रस कन्टी्र इभेन्टमा खेलिरहेका नेपाली खेलाडीमा विमल अधिकारी, विजय गौतम, सुुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा रहेका छन् ।
पदकको आश गरिएको तेक्वान्दो, कराते, बक्सिङ जस्ता खेलमा कमजोर बनेको नेपालका लागि प्याराग्लाइडिङले एसियाली खेलकुद इतिहासमै नेपालको दोस्रो रजत पदक जित्दै निराश हुनबाट जोगाएको हो । यसअघि १९९८ मा थाइल्याण्डमा भएको एसियाली खेलकुदमा तेक्वान्दोबाट सविता राजभण्डारीले रजत पदक जितेकी थिइन् ।