साउन १०, विरगञ्ज । वीरगञ्ज — वीरगञ्ज महानगरपालिकाले अघि सारेको एक घर एक परिक्षण अभियान आईतवारदेखी शुरु हुने भएको छ ।
पर्सा जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढीरहेको अवस्थामा र समुदायस्तरमै संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले अनिश्चितकालसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा अवधिमा पनि कोरोना संक्रमणलाई न्युनिकरण गर्नका लागि मास टेस्टिंगलाई तिब्रता दिने प्रशासनले निर्णय गरेको थियो ।
जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साको निर्णय अनुसार आईतवार दिउसो १ बजेदेखी उक्त अभियानको शुभारम्भ हुने भएको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले जानकारी दिए ।
नगरप्रमुख सरावगीले वीरगन्ज महानगरपालिकाको संयोजकत्वमा नेपाली सेना, नेपाल प्रहरी, जिल्ला जनस्वास्थ्य कार्यालय लगायतको सहयोगमा वीरगन्ज महानगरपालिका वडा नं ९ को रेल्वे माविबाट शुभारम्भ हुने बताए ।
उक्त अभियान वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडामा सञ्चालन गरिने उहाँको भनाई छ । साथै यस कार्यमा सहयोग गर्न पनि सम्पुर्ण संघ संस्था, नगरवासि, वडावासिमा उनले अपिल गरेका छन् ।