साउन ११, काठमाण्डौ । पटक–पटकको स्थगनपछि अन्ततः ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथारोहण शनिबार भएको छ । रातो मच्छिन्द्रनाथलाई वर्षा र सहकालको देवताका रूपमा लिइन्छ । १६ सय वर्ष पुरानो यस परम्परा यसअघिका विभिन्न महामारीमा रोकिएको इतिहास नभएको उल्लेख गर्दै रथारोहण गरिएको हो ।
दैवज्ञ कीर्तिमदन जोशीले दिएका शुभसाइतमा धार्मिक विधि–विधान पूरा गरी करिब १ बजे आसपासमा रातो मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएको थियो । यसअघि तबहालमाको एउटा पाटीमा राखिएकोमा रातो मच्छिन्द्रनाथलाई खटमा राखेर ३२ फिट उचाइ रहेको रथमा राखिएको हो । यसपटक कोरोनाका कारण परम्परागत बाजागाजा बजाइएको थिएन ।