मलाई मेरो देशको आकार थाहा छैन
जीवनको परिवर्तित अर्थ थाहा छैन
कविता पनि देशजस्तै मदेखि टाढा बन्दैछ
मान्छेको जंगलबाट मान्छे नै बाघ बनेर निस्किदा
मलाई कविता लेखुँलेखुँ लाग्छ
तर म जब कविता लेख्न थाल्छु
हजारवटा अनुत्तरित प्रश्नहरु लाम लाग्छन्
र आफैंमा तँछाडमछाड गर्दै आउँछन्
म आफैं तिलमिलाउँदैछु अनि कसरी लेखुँ कविता?
मलाई मेरो आफ्नै आकृति थाहा छैन
अनेक तरंग मिसिएका छाल उर्लिरहेछन्
द्वन्द्वका कैयन् संघारहरु छन्
असमान सम्झौताहरु टमाटम छन्
देश समयको खेस्रामा अलमलिएको छ
अनकन्टार चट्टानहरु दिनप्रतिदिन अग्लिरहेका छन्
यसलाई नाघ्ने योजनाबद्ध विकास छैन
कुहिरोको कालो अवशेष पन्छाउन बाँकी छ
शव्द नै बन्धक बनेको बेला म कसरी लेखुँ कविता?
म यतिखेर मानिसहरुको जंगलमा घुम्दैछु
फाटेका मनहरु जोडेर कुम्भकर्ण उठेको देख्न खोज्दैछु
देशको माटोमा कविता उमार्न कठिन छ
अस्तित्वका टोपीहरु कुल्चिइरहेका छन्
दृष्टि रोक्न आँखाभरि पर्दा लगाइएका छन्
हिड्ने बाटामा जताततै पर्खाल ठड्याइएका छन्
मेरो परिवेशको वरिपरि विडम्बनाका खाडलहरु
सिंहजस्तै मुख आँ गरेर मेरो शिकार गर्न बसिरहेका छन्
म कहाँ खोजुँ कविता, म कसरी लेखुँ कविता??
✍️रामचन्द्र अधिकारी, झापा