जुगल गाउँपालिकामा भिषण पहिरो: १३ घर पुरिए, पाँच परिवारका सदस्य बेपत्ता

Post Thumbnail

साउन ३०,काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् ।

शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् । जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले भने, ‘१३ वटा घर पुरिएर देखिँदै देखिँदैन, पाँच घर परिवारका सदस्यहरु सम्पर्कमा हुनुहुन्न । ती पाँच घर परिवारमा कति जना सदस्य हुनुहुन्थ्यो भन्ने पनि पत्ता लागेको छैन ।’

१५ जना भने पहिरोबाट निस्किएर आफैं लप्सीचौर भन्ने स्थानमा आएर बसिरहेका उनले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा २५–३० घरहरु जोखिममा छन् ।

अहिले पानी पर्न रोकिए पनि पहिरो झरिरहेकाले उद्धार टोली खटिन सकेको छैन । जुगल गाउँपालिकाका योजना अधिकृत नेपालले भने, ‘उद्धार गर्न एकदमै कठिन छ । पहिरो झरिरहेको छ । हामी हेलिकोप्टर परिचालनको तयारीमा छौं ।’

१९ साउनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो । यस्तै २४ असारमा गएको बाढी पहिरोमा बेपत्ता भएका २२ जना अझै फेला परेका छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस