भाद्र १७,काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले लगातार दुई महिनामा दुई ठूला प्रतियोगिता खेल्ने भएको छ । बुधबार देखि सुरु हुने साफ च्याम्पियनसिप पछि नेपाली टोलीले बंगबन्धु गोल्ड कपको उपाधि रक्षाका लागि खेल्नेछ ।
बंगलादेशमा अर्को महिना आयोजना हुने बंगबन्धु गोल्डकपमा नेपाल समूह एमा परेको छ । बंगलादेश फुटबल संघले शनिबार ६ टोलीको सहभागिता रहने प्रतियोगिताको ड्र गर्दा साविक विजेता समेत रहेको नेपाल समूह एमा परेको हो ।
नेपालको समूहमा प्यालेस्टाइन र ताजकिस्तान रहेका छन् । असोज १५ देखि बंगलादेशको ढाकामा सुरु हुने प्रतियोगिताको समूह बी आयोजक बंगलादेश, फिलिपिन्स र लाओस रहेका छन् । सन् २०१६ मा भएको पछिल्लो संस्करणमा बहराइनलाई ३–० ले हराउँदै नेपालले उपाधि जितेको थियो । फाइनलमा नवयुग श्रेष्ठ, विमल घर्तीमगर र विशाल राईले गोल गरेका थिए ।
१९९३ मा दक्षिण एसियाली खेलकुद (साफ) मा स्वर्ण पदक जितेपछि को त्यो सबै भन्दा ठूलो उपलब्धी थियो । साफमा स्वर्ण पदक जित्दा टोलीको सदस्य रहेका बालगोपाल महर्जन बंगबन्धु जित्दाका प्रशिक्षक थिए । बंगलादेशमै बुधबारदेखि साफ च्याम्पियनसिप सुरु हुँदैछ । त्यसका लागि नेपाली टोली आइतबार बंगलादेश यात्रामा निस्कदैछ ।