भाद्र ३, काठमाडौं । नेकपाभित्रको शक्ति सन्तुलन मिलाउने प्रयत्नले आकार लिएमा संघमा मन्त्री र प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने लगभग निश्चितजस्तै भएको छ । पार्टीलाई निकास दिन नेकपाले यस्तो कदम चाल्न लागे पनि को–को परिवर्तन हुँदैछन् भन्ने यकिन भइसकेको छैन । यसबारे नेकपाभित्र गृहकार्य चलिरहेका बेला वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको विकल्प खोज्न पार्टी नेतृत्वलाई चर्को दबाब पर्न थालेको छ । १ सय १० सदस्यीय वागमती प्रदेशमा सुरुमा सत्तारूढ नेकपाका ८१ सांसद थिए । भक्तपुरका तत्कालीन प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधनपछि वागमती प्रदेशसभामा नेकपाको कुल सदस्य संख्या ८० मा झरेको छ । स्रोतका अनुसार, यीमध्ये ५० प्रतिशतभन्दा बढी सांसद मुख्यमन्त्री पौडेलको व्यवहार र कार्यशैलीबाट रुष्ट छन् । प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक कसैस“ग सम्बन्ध नराख्ने पौडेलको स्वभावका कारण अधिकांश उनीसँग चिढिएको बताइन्छ ।
‘मुख्यमन्त्री पौडेलले प्रधानमन्त्रीबाहेक पार्टीका नेता, कार्यकर्ता, प्रदेश सभासद् कसैसँग समन्वय गर्ने गरेका छैनन्,’ स्रोतले भन्यो, ‘त्यसैले नेकपाकै सांसदहरु उनको विकल्पमा पार्टीको हितमा काम गर्ने अर्को कुनै राम्रो पात्रलाई मुख्यमन्त्री बनाउनु पर्ने पक्षमा खुलेका छन् ।’ बयोबृद्ध मुख्यमन्त्री पौडेलमा केही शारीरिक समस्यासमेत रहेको बताइन्छ । खासगरी उनको श्रवण र स्मरण शक्ति दुवै कमजोर रहेको प्रदेश सभासद्हरु बताउछन् । यही समस्याका कारण उनलाई गुनासो राख्नै समस्या हुने गरेको गुनासो सांसदहरूको छ ।
कथंकदाचित कसैको गुनासो सुनवाइ गरिहाले पनि छिट्टै बिर्सने बानीका कारण त्यसको समाधान नहुने गरेको गुनासो पनि सांसदहरूको रहने गरेको छ । उनका यिनै शारीरिक समस्याले मुख्यमन्त्रीको भूमिका सशक्त हुनबाट रोकेकाले विकल्पमा जानुपर्ने मत तीव्र पारिएको छ
केन्द्रले नहटाए अविश्वासको प्रस्ताव
नेकपाको शक्ति सन्तुलन मिलाउन मन्त्री र मुख्यमन्त्री परिवर्तन गर्न लागिएकाले डोरमणिबारे केन्द्रबाटै निर्णय गरिनुपर्ने सांसदहरूको भनाइ छ । प्रधानमन्त्री र राष्ट्रपति विद्यादेवी भण्डारीको अति नै विश्वास पात्र भएकाले सजिलै पौडेलको विकल्प खोजिनेमा भने धेरैले शंका व्यक्त गरेका छन् । यदि राष्ट्रपति र प्रधानमन्त्रीस“गको सम्बन्धकै आधारमा पौडेललाई निरन्तरता दिइएमा अविश्वासको प्रस्ताव नै ल्याएर भए पनि उनलाई हटाउन केही सांसद कस्सिएको खबर छ ।
संविधानको धारा १८८ मा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्न सकिने प्रावधान छ । धारा १८८ को उपधारा ३ मा उपधारा १ र २ बमोजिम पेस भएको प्रस्ताव प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतले पारित भएमा मुख्यमन्त्री आफ्नो पदबाट मुक्त हने उल्लेख छ ।
प्रदेशसभामा तत्कालीन एमालेका ५७ सांसद् छन् । यीमध्ये ३४ जना पौडेलको पक्षमा खुलेका थिए । अष्टलक्ष्मी शाक्यलाई भने २४ जनाले साथ दिएका थिए । पार्टी एकीकरणपछि पूर्वमाओवादीका २३ जना थपिएका छन् ।
डोरमणिलाई प्रदेशको मुख्यमन्त्री बनाउन विगतमा समर्थन गरेका नै उनीसँग रुष्ट रहेकाले नेकपाकै बहुमत सांसद अविश्वासको पक्षमा खुल्ने बताइएको छ । विपक्षी सांसद पनि पौडेलस“ग सन्तुष्ट नरहेकाले अविश्वासको प्रस्ताव पेस गरिएको अवस्थामा उनी सजिलै किनारा लाग्ने एक सांसदले दाबी गरे ।
डोरमणिको विकल्प को ?
डोरमणि हटेपछि उनको स्थानमा कसलाई ल्याउने भन्नेबारे पनि नेकपाभित्र बहस सुरु भएको छ । स्रोतका अनुसार, वरिष्ठ, त्यागी र निष्कलंक नेतृको छवि बनाएकी अष्टलक्ष्मी शाक्यलाई उक्त जिम्मेवारी दिनुपर्ने मत पनि प्रकट भइरहेका छन् । तर शाक्यले मुख्यमन्त्री हुन कत्ति पनि रहर गरेकी छैनन् । यसअघि मुख्यमन्त्रीका लागि भएको निर्वाचनमा डोरमणिसँग १० मतले पराजित भइसकेकाले अरू नै कसैलाई अघि सार्न उनले सुझाव दिने गरेको स्रोत बताउछ । शाक्यले मुख्यमन्त्री बन्न उत्सुकता नदेखाएकाले राजेन्द्र पाण्डेको सम्भावना बलियो हुने देखिन्छ ।
धादिङका पाण्डे राजनीतिमा वर्षौंदेखि क्रियाशील छन् । उनी मुख्यमन्त्री बन्ने अभिष्टका साथ केन्द्रबाट प्रदेश झरेका थिए । उदेश्यका साथ प्रदेश सभामा गएका थिए ।
नेता पाण्डेलाई शिर्ष नेताहरुले समेत प्रदेशको मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि उनि प्रदेश सांसदमा उठ्न राजी भएका थिए । तर पार्टीको पदीय हैसियतमा उनीभन्दा जुनियर डोरमणिलाई मुख्यमन्त्रीको जिम्मेवारी दिएपछि पाण्डे निराश भएका थिए ।
नेता पाण्डे मुख्यमन्त्री बन्ने सम्भावना बढेर गएको पार्टीभित्र नेताहरुले बताउन थालेका छन् । सबै नेता,कार्यकर्तासंग सौहार्द व्यवहार गर्ने, विगतमा स्थानीय विकास मन्त्री भइसकेका कारण पनि उनि प्रदेशको रोडम्याप बनाउन सक्ने नेताको रुपमा बागमती प्रदेशका सांसदहरुले बुझेका छन् ।