भाद्र ९,काठमाडौँ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका तिनवटै जिल्लाका कोभिड–१९ जिल्ला क्राईसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी)को बैठकबाट निषेधाज्ञाको समयसीमा थप गर्ने तयारी गरिएको छ । स्रोतका अनुसार प्रमुख जिल्ला अधिकारीहरुले अहिलेकै मोडलको निषेधाज्ञालाई थप एक साता बढाउने तयारी गरेका छन् ।
निषेधाज्ञाको मोडालिटी चेन्ज गर्ने कि यसअघि जारी आदेशलाई निरन्तरता दिने भन्नेबारे आज छलफल गरिने काठमाडौंका प्रजिअ जनकराज दाहालले बताए । उनले भने, ‘ जिल्ला क्राईसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी)को बैठकमा पनि छलफल गरेर उपयुक्त निर्णय लिन्छौँ ।’
सोमबार उपत्यकाका स्थानीय प्रशासनले निषेधाज्ञाको प्रारम्भिक समीक्षा गरेका थिए । सो बैठकमा अहिलेकै निषेधाज्ञाको स्वरुपलाई निरन्तरता दिनुपर्ने कुरा उठेको थियो ।
‘निषेधाज्ञा अब थप एक हप्ता जाने सम्भावना छ,’ उपत्यकाको जिल्ला सुरक्षा समितिका एक अधिकृतले भने–‘त्यसबारे आज औपचारिक निर्णय हुन्छ ।’
प्रमुख जिल्ला अधिकारीहरुले उपत्यकाका महानगरपालिका र नगरपालिकाका प्रमुखसँग पनि यसबारे छलफल गर्ने भएका छन् ।