कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित

भाद्र १९,काठमाडौँ । प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित भएको छ ।

समितिको मंगलबार सिंंहदरबारमा बसेको बैठकले समितिको कार्यविधिलाई परिमार्जनसहित पारित गरेको हो । उपसमितिले तयार पारेको समितिको कार्यविधिलाई परिमार्जनसहित पारित गरिएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिको बिहीबार बसेको बैठकले कार्यविधिको मस्यौदा बनाउन कृष्णभक्त पोखरेल, पदमनारायण चौंधरी र शशी श्रेष्ठ रहनुभएको ३ सदस्यीय उपसमिति गठन गरेको थियो ।

कार्यविधिमा न्याय परिषद, राष्ट्रिय मानव अधिकार आयोग, महान्यायावक्ताको कार्यालय, न्याय सेवा आयोगको कामको अनुगमन, निरीक्षण र आवश्यक निर्देशन दिने व्यवस्था गरिएको छ ।

त्यसैगरी न्याय र मानव अधिकारको क्षेत्रमा सरकारको काम, कार्वाहीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विज्ञहरुसँग आवश्यक परामर्श गर्ने व्यवस्था पनि समितिको कार्यविधिमा गरिएको छ ।

यस अघि बैठकमा बोल्दै समितिका सदस्यहरुले संविधान र प्रतिनिधिसभा नियमावलीका आधारमा समितिको कार्यविधि बनाउन उपयुक्त हुने धारणा राखेका थिए ।

समितिका सदस्य बालकृष्ण खाँडले संविधान र प्रतिनिधिसभा नियमावलीको आधारमा समितिको कार्यविधि बनाउन उपयुक्त हुने धारणा राखेका थिए ।

समितिका अर्का सदस्य देवप्रसाद गुरुङले न्याय परिषद र मानव अधिकार आयोगको क्षेत्राधिकारमाथि आवश्यक निरीक्षण, अनुगमन र निर्देशन हुने गरी समितिको कार्यविधि बनाउनुपर्ने सुझाव दिए ।

उनले राष्ट्रिय मानव अधिकार आयोगलाई मानव अधिकार उलंघनको घटना हुन नदिने गरी आवश्यक निर्देशन दिने व्यवस्था गर्न पनि सुझाव दिएका थिए ।

समितिका सदस्य कृष्णभक्त पोखरेलले महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदनमाथि पनि छलफल हुने गरी कार्यविधि बनाउनुपर्ने प्रस्ताव राखेका थिए । उनले सम्बन्धित विषयका विज्ञहरुसँग छलफल गर्ने प्रावधान पनि उपयुक्त हुने सुझाव दिए ।

समितिको कार्यविधिमा न्यायालयले फैसला गरेको मुद्दा विवादमा आए समितिले सम्बन्धित न्यायाधिशसँग सुनुवाई गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।

संम्बन्धित समचार

Leave a Reply