नाम फेरेर अरनिको यातायात कम्पनीमा दर्ता !

भाद्र १९,काठमाडौँ । सरकारले यातयात क्षेत्रको सिण्डीकेट अन्त्य गरेसँगै राजधानी पूर्वका पाँच जिल्लामा विगत ४६ वर्षदेखि यातयात सञ्चालन गरिरहेको अरनिको यातयात सेवा समिति औपचारिक रुपमै कम्पनीमा दर्ता भएको छ ।

काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायतका जिल्लामा सेवा समितिको नाममा यातयात सञ्चालन गर्दै आएको अरनिको यातायात सेवा समितिले कम्पनी रजिष्टारको कार्यालयमा अरनिको भिमेश्वर यातयात प्रालि दर्ता गरेको हो ।

२०२९ भदौ १५ देखि सेवा समितिको नाममा यातायात सञ्चालन गर्दै आएको अरनिको देशकै ठूला पाँच यातयात समितिमध्ये पर्छ ।

हरेक वर्ष भदौ १५ मा वार्षिक साधरण सभा गर्दै आएको अरनिको यातयात सेवा समितिले कम्पनीमा दर्ता भएपछि यस वर्ष अरनिको भिमेश्वर कम्पनीको नाममा व्यावासायी भेला मात्रै गरेको छ ।

अरनिकोले शुरुमा कम्पनीमा दर्ता हुन आनाकानी गरेको थियो । तर सरकारले दशैंमा अग्रिम टिकट बुकिङको जिम्मा कम्पनीमा गएका यातयात कम्पनीहरुलाई मात्रै दिने निर्णय गरेपछि उसले बाध्य भएर कम्पनीमा दर्ता गरेको व्यावसायी बताउँछन् ।

तर नयाँ कम्पनीका प्रबन्धक श्याम लामा भने सरकारको निर्णयको सम्मान गर्दै आफूहरु कम्पनीमा गएको बताउँछन् ।

समितिले अरनिको प्रालिको नाममा कम्पनी दर्ता गर्न खोजे पनि काभ्रे चौरीक्षेत्रका एक व्यावसायीले अरनिको नाममा कम्पनी दर्ता गरेपछि अरनिकोले भिमेश्वर पनि थपेर कम्पनीमा दर्ता गरेको हो ।

अरनिको यातायात सेवा समितिका पूर्वअध्यक्ष एवं नेपाल राष्ट्रिय यातायात व्यावसायी महासंघका केन्द्रीय अध्यक्षसमेत रहेका जितबहादुर भारती कम्पनीको अध्यक्ष बनेका छन् । यसअघिको समितिमा अध्यक्ष रहेका श्यामबहादुर लामा प्रबन्धक भएका छन् ।

अरनिको समितिमा आवद्ध ५सय ५० यातयात व्यावासयीहरुबाट प्रतिबस १० हजारका दरले शेयर संकलन गरेको व्यावासायीहरुले जानकारी दिएका छन् । ५ सय ५० बसबाट शेयरबापत ५५ लाख रुपियाँ संकलन भएको थियो ।

यातयात समितिहरुको चल अचल सम्पत्ति सरकारले यसअघि नै सबै रोक्का गरेको छ । अरनिको यातायात सेवा समितिको नाममा भक्तपुरको लोकन्थलीमा भवन, बनेपामा जग्गा र भवन रहेको छ । यो सम्पत्ति के गर्ने भन्ने अझै टुंगो नलागेको व्यवसायीहरु बताउँछन् ।

संम्बन्धित समचार

Leave a Reply