-अर्जुन श्रेष्ठ
भाद्र १९,धादिङ । धमिलो पानी प्रयोग गर्नुपर्ने अवस्थाबाट गुज्रँदै आएका धादिङ गजुरीवासीले पानी शुद्धीकरण गर्ने प्रविधि सञ्चालनमा आएसँगै सफा पानी पिउन पाएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धादिङले पानी शुद्धीकरण प्रविधि प्रयोगमा ल्याएसँगै उनीहरूले सफा पानी पाएका हुन् ।
यो प्रविधिबाट प्रतिसेकेन्ड आठ लिटर पानी सफा गर्न सकिने इन्जिनियर हेराकाजी महर्जनले बताए । उनका अनुसार पानी प्रशोधनका लागि चार भाग आवश्यक पर्छ, पहिलो फ्लकुलेसन टंकी, दोस्रो प्लेन सेडिमेन्टेसन टंकी, तेस्रो होरिजÞेन्टल रफिङ फिल्टर र चौथोलाई स्लो स्यान्ड फिल्टर । तिनै फिल्टरमार्फत पानी निर्मलीकरण प्रक्रिया पूरा गरिन्छ ।
यही प्रविधिको उपयोग गरी उपभोक्ताको माग र आवश्यकता पूरा गरिएको र उपभोक्ता समितिलाई जिम्मेवारी हस्तान्तरण गर्न भने बाँकी रहेको इन्जिनियर महर्जनको भनाइ छ ।
धमिलो पानी खानुपर्ने भएका कारण पहिले रुघाखोकी, ज्वरोलगायत रोगलेसताउने गरेका स्थानीय उपभोक्ता शान्ति परियारले बताइन् । ‘अहिले फिल्टर गरिएको पानी घरकै धारामा पाउँदा खुसी लागेको छ,’ उनले सुनाइन् । त्यस्तै, अर्का स्थानीय विमला खतिवडा पनि पानीको सहजताले खुसी थपिएको बताउछिन् । ‘पहिला टाढाबाट पानी बोक्दा शरीरलाई मार पथ्र्यो, अहिले सुखको सास फेर्न पाइएको छ,’ उनले भनिन् ।
२०६१ सालबाट सुरु भएको खानेपानी योजनाले २०६५ सालसम्म २२ वटा सार्वजानिक धारो बनाएको थियो । आवश्यकताअनुकूल पानी नपाएको गुनासो आएपछि २०६७ सालबाट निजी धारा वितरण गरी मिटर प्रणाली लागू गरिएको गजुरी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गजुरीका व्यवस्थापक सुनिता पाण्डेले बताइन् । त्यही पुरानै खानेपानी योजनामा नयाँ प्रविधि भित्र्याएको उनको भनाइ छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धादिङ १ करोड ५४ लाख आर्थिक तथा प्राविधिक सहयोग र उपभोक्ताको करिब २५ लाख ८० हजार नगद तथा श्रमदानबाट पानी शुद्धीकरण योजना सम्पन्न भएको उपभोक्ता समितिका जिम्मेवारीसमेत सम्हालिरहेका वडाध्यक्ष राजकुमार पण्डितले बताए । हाल ५५७ वटा निज धारा रहेको र १० हजार लिटर पानीको ९० रुपैयाँ शुल्क तोकिएको उनको भनाइ छ । चार जना कर्मचारी व्यवस्थापन र कार्यालय सञ्चालन गर्न ५५ हजार रुपैयाँ खर्च हुने अध्यक्ष पण्डितले बताए