त्रिविका सहप्राध्यापक कांग्रेस केन्द्रीय कार्यालयका सचिव

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ भाद्र २०, शनिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र २०, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक नै कांग्रेसको पार्टी कार्यालयमा कर्मचारीको रूपमा काम गरेको पाइएको छ । कांग्रेस कार्यालयमा मुख्यसचिवपछिको वरीयतामा रहेका सचिव प्रदीप पराजुली पाटन संयुक्त क्याम्पसमा समाजशास्त्र विषयका सहप्राध्यापक हुन् । उनी कांग्रेसको केन्द्रीय कार्यालयमा लामो समयदेखि सचिवका रूपमा कार्यरत छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले केही समयअघि त्रिविमा राजनीतिक हस्तक्षेप भएको भन्दै विज्ञप्ति नै निकालेको थियो । तर, सरकारको कदमको विरोध गर्ने कांग्रेसको केन्द्रीय कार्यालयमै प्राध्यापक सचिवको रूपमा क्रियाशील छन् ।

आंशिकबाहेकका त्रिविका सबै शिक्षकले शैक्षिक संस्थामा आंशिक रूपमा पढाउनसमेत केन्द्रीय कार्यालयबाट स्वीकृति लिनुपर्छ । तर, पराजुलीलाई कांग्रेस कार्यालयमा सचिवका रूपमा काम गर्न क्याम्पसबाट सिफारिस भएको छैन र केन्द्रले समेत स्वीकृति दिएको छैन । त्रिविका अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक विष्णु खनालले अहिलेसम्म कसैलाई पनि पार्टी कार्यालयमा काम गर्न स्वीकृति नदिएको बताए ।

त्रिविका प्राध्यापकले अन्यत्र पढाउन तथा गैरसरकारी संस्थामा आंशिक समय काम गर्न कार्यरत संस्थाबाट समेत अनुमति लिनुपर्छ । पराजुली कार्यरत रहेको पाटन संयुक्त क्याम्पसले समेत उनलाई सिफारिस गरेको छैन ।

क्याम्पसप्रमुख लक्ष्मणसिंह कुँवरले कसैले पार्टी कार्यालयमा काम गरेको जानकारी नभएको र आफू आएपछि सिफारिस समेत नगरेको बताए । क्याम्पस प्रमुख कुँवरले भने, ‘म क्याम्पस चिफ भएपछि पार्टी कार्यालयमा काम गर्न सिफारिस गरेको छैन, त्यसबारेमा मलाई जानकारी पनि छैन । पार्टी कार्यालयमा काम गर्नु नैतिकताको कुरा हो ।’

०५६ तिर पार्टटाइमका रूपमा क्याम्पस पढाउन थालेका पराजुलीले केही समयपछि सहप्राध्यापकमा नाम निकालेका थिए । तर, कांग्रेस फुटेको वेला ०५९ मा कांग्रेस प्रजातान्त्रिकतर्फ कार्यालय सचिव भए ।

त्यसपछि ०६२–६३ को जनआन्दोलनको समय उत्कर्षमा पुग्दा भने पराजुली सक्रिय देखिएनन् । राजाको प्रत्यक्ष शासनकाल भएकाले प्राध्यापकले राजनीति पनि गरेको देखिँदा जागिर गुम्ने भयले उनी दुई वर्ष जति भने सक्रिय नभएको कांग्रेस स्रोतको भनाइ छ ।

‘कांग्रेस फुटलगत्तै उहाँ सचिव हुनुभयो । जनआन्दोलन उत्कर्षमा पुग्दा दुई वर्षजति उहाँले पार्टी काममा निरन्तरता दिनुभएन,’ कांग्रेस स्रोतले भन्यो, ‘राजनीतिसँगै क्याम्पसमा पढाउने काम गर्दा जागिर अप्ठ्यारोमा पर्ने भएकाले उहाँ दुई वर्षजति पार्टीमा निष्क्रिय बस्नुभयो ।

तर, जनआन्दोलनपछि भने पुनः सचिवमै फर्किनु भयो ।’ सुशील कोइराला सभापति भएपछि पराजुली पनि पुनः सचिव भए । त्यसयता उनी निरन्तर केन्द्रीय कार्यालयमा सचिव छन् ।

क्याम्पस पढाउने भए पनि आफूले राजनीतिक आस्थाका रूपमा कांग्रेसमा भोलेन्टियर रूपमा काम गरेको दाबी गरे । ‘पार्टटाइमबाट क्याम्पस पढाउन सुरु गरेपछि पार्टीमा सचिव भएर काम गरेको हुँ ।

पछि उपप्राध्यापकमा नाम निकालेदेखि नै बिहान मात्रै क्लास लिँदै आएको छु,’ पराजुलीले भने, ‘बिहान कहीँ काम गर्न मिल्दैन । तर, दिउँसो भोलेन्टियर रूपमा काम गर्न मिल्छ । राजनीतिक पृष्ठभूमिको मान्छे भएकाले भोलेन्टियर रूपमा पार्टीलाई सहयोग गरेका हुँ ।’ कांग्रेस केन्द्रीय कार्यालयमा आफूले हाजिर नगरेको र तलबभत्ता नबुझेको उनको दाबी छ ।

त्रिविका स्थायी प्राध्यापकले राजनीतिक सम्बन्धका आधारमा पार्टी कार्यालयमा जागिर खाने र अरूलाई पछाडि पार्दै बढुवा हुने गरेका छन् । तर, राजनीतिक पहुँचका आधारमा कलेज खोल्ने, सांसद र अरू नियुक्तिका लागि पार्टीमा लबिङ नगरेको उनी बताउँछन् ।

आफू एसोसिएट प्रोफेसर भएपछि आफ्नो विरोध गरेको उनको भनाइ छ । प्राध्यापक, कर्मचारीहरू कहीँ न कहीँ भोलेन्टियर रूपमा पार्टीमा हुनुलाई आपत्ति मान्न नहुने उनको भनाइ छ । नेपाल कमर्स क्याम्पस मीनभवनमा प्राध्यापन गर्ने दाजु दिलीप पराजुलीलाई पनि उनले शिक्षा विभागमा राख्न लबिङ गरेका थिए । पराजुली कांग्रेसमा विवादित बनेको क्रियाशील सदस्यताको पुरानो रेकर्ड अद्यावधिक राख्ने काममा सक्रिय छन् ।

पराजुली मात्रै होइन प्रजातन्त्रवादी प्राध्यापक संघमा आबद्ध धेरै प्राध्यापक र शिक्षक कांग्रेसको राजनीतिमा सक्रिय छन् । पार्टीका विभाग, केन्द्रीय प्रशिक्षण प्रतिष्ठानमा पनि क्याम्पसमा पढाउनेहरू सक्रिय छन् । त्यस्तै, क्याम्पसमा पढाउने प्राध्यापक, विद्यालयका शिक्षक धेरै संख्यामा कांग्रेसमा महाधिवेशन प्रतिनिधि छन् ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारी क्याम्पसमा स्थायी रूपमा पढाउनेले कांग्रेसको केन्द्रीय कार्यालयमा काम गर्दा आपत्ति मान्नु नपर्ने बताए । ‘त्रिविको क्याम्पसमा पढाउने भए पनि फुर्सदका वेला पार्टीको काम गर्न सक्नुहुन्छ । क्याम्पसमै पढाउन छोडेर काम गर्ने होइन,’ महतले नयाँ पत्रिकासित भने, ‘उहाँ पार्टीको गतिविधिमा हिँड्न र लाग्न नपाएरै हो, तर कांग्रेसको अफिसमा बसेर फुर्सदमा काम गर्न सक्नुहुन्छ ।’

त्रिवि अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक विष्णु खनाल भन्छन्– पार्टी कार्यालयमा काम गर्न अनुमति दिएका छैनौं

त्रिभुवन विश्वविद्यालयको नियमअनुसार आंगिक क्याम्पस र विभागबाहेक अन्यत्र काम गर्न प्राध्यापकहरूले स्वीकृति लिनुपर्छ । त्रिविलाई अहित नहुने काम र त्यो पनि आंशिक रूपमा मात्रै गर्न पाउँछन् । स्वीकृति लिएकाले पनि पूर्णकालीन रूपमा काम गर्नै पाउँदैनन् ।

त्रिविका सम्बन्धनप्राप्त क्याम्पस अरू कार्यालयमा कार्यकारी पद, सञ्चालक समिति अध्यक्षदेखि सदस्य कुनैमा बसेर पूर्णकालीन काम गर्न पाइँदैन । विश्वविद्यालयमा पढाउनेबाहेक सिफ्ट र एउटा सिफ्टमा आंशिक काम गर्न स्वीकृति दिने व्यवस्था छ ।

काम गर्ने निकायका प्रमुखबाट प्रमाणीकरण भएर आएपछि त्रिविले स्वीकृति दिन्छ । दलको कार्यालयमा काम गर्न अहिलेसम्म कसैले पनि स्वीकृति पाएका छैनन् । पार्टीका कार्यालय सचिव, प्रमुख कुनैमा पनि स्वीकृति दिन्नौँ । यस्ता विषयमा अहिलेसम्म उजुरी पनि आएको छैन । नयाँ पत्रिका दैनिकबाट

ताजा अपडेट

खोजी गर्नुहोस