नेपाल–चीन पारवहन सम्झौताको ‘प्रोटोकल’ अन्तिम चरणमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र २०, बुधबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २०,काठमाडौँ । नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्रोटोकल’लाई अन्तिम रूप दिने उद्देश्यले दुवै देशका अधिकारीको तेस्रो बैठक आजदेखि राजधानीमा शुरु भएको छ ।

प्रोटोकललाई अन्तिम रुप दिने सम्बन्धमा दुई देशका अधिकारीबीच सकारात्मक छलफल भइरहेको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैजुले जानकारी दिए । उनले भने, “पारवहनका लागि नेपालले चीनसँग मागेका सडक मार्ग र बन्दरगाह उपलब्ध गराउन चीनले सहमति प्रदान गर्ने सङ्केत गरेको छ । यातायातसम्बन्धी अन्य प्राविधिक विषयमा सहमति जुटाउन छलफल जारी छ ।”

उक्त बैठकमा नेपालका तर्फबाट सहसचिव सैजुको नेतृत्वमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको सहभागिता छ भने चीनका तर्फबाट यातायात मन्त्रालयअन्तर्गतको यातायात विभागका महानिर्देशक वाङ सिपिङको नेतृत्वमा १० सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अतिरिक्त परराष्ट्र, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालका साथै व्यापार प्रवद्र्धन केन्द्र र नेपाल इन्टरमोडेल ट्रान्सपोर्टेशन बोर्डका उच्च अधिकारीको सहभागिता रहेको मन्त्रालयले जनाएको छ । दोस्रो परामर्श बैठक गत असार २६ र २७ गते बेइजिङमा बसेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस