टिचिङ अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमित व्यक्तिको मृत्यु

Post Thumbnail

भाद्र २८,काठमाडौँ । काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंका तीन जना र सिन्धुपाल्चोकका एक जना पुरुष रहेको अस्पतालका कोभिड टिम सदस्य डा‍. सविन थपलियाले जानकारी दिए।

मृत्यु हुने संक्रमितहरूमा काठमाडौंका ५९, ६४ र ७० वर्षीय पुरुष छन्। त्यस्तै सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुष छन्। काठमाडौंका ५९ वर्षीय पुरुष गत भदौ १९ गते अस्पताल भर्ना भएका थिए। मधुमेहका समेत रोगी रहेका उनको गए राति सवा ११ बजे मृत्यु भएको हो।

काठमाडौंकै अर्का ६४ वर्षीय पुरुषको भने आइतबार बिहान साढे २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। किड्नी फेल भएका उनी केही समययता डायलासिस गराउँदै आएका थिए। काठमाडौंकै ७० वर्षीय वृद्धको शनिबार ४ बजे मृत्यु भएको थियो।

सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुषको भने शनिबार राति साढे १२ बजे मृत्यु भएको डा. थपलियाले जनाए। उनमा कोभिड निमोनियाको समस्या रहेको थपलियाले बताए । मृतक चार जनाकै अस्पतालमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस