नेपाल–चीन पारवहन सम्झौताको प्रोटोकलः नेपालले प्रयोग गर्ने ७ चिनियाँ बन्दरगाह तोकियो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ भाद्र २२, शुक्रबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

भाद्र २२,काठमाडौँ । नेपाल–चीन पारवाहन सम्झौताको ‘प्रोटोकल’मा सहमति जुटेको छ । अब चीनले चार वटा समुन्द्री र तीन सुख्खा बन्दरगाह प्रयोग गर्न दिनेछ ।

यससँगै तेस्रो मुलुकबाट हुने आयातका लागि भारतीय बन्दरगाहमाथि परनिर्भरता अन्त्य भएको छ ।

काठमाडौंमा बुधबार र बिहीबार बसेको तेस्रो परामर्श बैठकमा भएको सहमतिले चीनको भूमि हुँदै जापान, कोरिया लगायतका तेस्रो मुलुकबाट वस्तु आयात गर्न र तेस्रो मुलुकबाट बस्नु निर्यात गर्न पारवहन मार्ग खुला भएको छ ।

प्रोटोकलअनुसार नेपालले चीनको सबै खुला समुन्द्रिक र सुख्खा बन्दरगाह प्रयोग गर्न पाउनेछ ।

हाललाई नेपालले नियान्जेन, सेनजेन, लियानयुगाङ र झाङजियाङ गरी चार वटा सामुन्द्रिक बन्दरगाह प्रयोग गर्न सक्ने सहमति भएको छ । सुख्खा बन्दरगाहतर्फ आन्जाओ, ल्हासा र सिगात्से तोकिएको वाणिज्य मन्त्रालयले जनाएको छ ।

पारवहन ढुवानीका लागि नेपालतर्फ रसुवा, कोदारी, किमाथाङ्का, नेचुङ, यारी र ओलाङचुङगोला प्रयोग गर्ने सहमति भएको छ । नेपालमा दर्ता भएका ढुवानीका साधन अनुमति लिएर सिगात्सेसम्म ढुवानीका लागि आउजाउ गर्न सक्नेछन् ।

वार्तामा बाणिज्य सचिव र चीनको यातायात मन्त्रालयका उपमन्त्री स्तरको संयुक्त परामर्श संयन्त्र बनाउने सहमति भएको छ । यो संयन्त्रले पारवहन यातायात सम्झौता र प्रटोकल कार्यान्वयनको अवस्थाबारे पुनरावलोकन गर्नेछ ।

वाणिज्य सहसचिव र चीनको यातायात मन्त्रालयका महानिर्देशकस्तरमा प्राविधिक विषयमा वार्ता गर्न परामर्श उपसमिति बनाउने सहमति पनि जुटेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस