भेरीमा बगाइएका नवराजहरू

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७७ आश्विन ७, बुधबार (३ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

-आरपी गाउँले                    

कस्तो रगत बगेको थ्यो उसका मुटुमा ?
सेतो या कालो थ्यो छाला ?
ढुङ्गालाई पुज्ने थोत्रा संस्कारका भतुवा पशुहरू !
बगायौ मानवताको प्रेम त भेरीमा
तर तिम्रा कुलीन जातकी छोएको छोरीको शरीर
त्यो प्रेमको दाग
कसरी चोख्याउँछौ ?भन कति पटक छोएको छ
तिमीहरूलाई कुकुर बिराला र पशुहरूले
र छोएका छौ तिनेरलाई
तर ऊ त तिम्रो उच्च जातजस्तै
हाड,छाला र रातो रङकै
मानव प्रेमी  थ्यो रगत मुटुमा बोकेको
भन कहिलेसम्म जोगाएर राख्छौ जातीय अहमता ?
कि छोपेका हौ दाउ
हाम्रो बहुमतको सरकार छ यतिबेला
बस्याछन् न्यायालयका तराजुहरू अन्यायको ढुसी उमारेर
सायद देश सङ्कटको भुमरीमा छटपटिएका बेला
उच्च जातकाहरूको रसदपानी डकारेर
मनाइरहेका होलान् भोज निर्मलाहरू जस्ताको हारमा ।

के भेरीमा नवराजहरू बगाउँदा
जात मात्रै बग्यो कि
मानवता पनि बग्यो उच्च जातका खोक्रा आवरण हो ?
पशु घाँटी रेटेर ढुङ्गा ब्युँताउन खोज्ने
थुक्क धर्म र जातका मुजी पाखण्डी मलामी हो !
उपनिषद् का मुर्दा अक्षरका ठेली पनि
बगाइदेऊ बरू उसँगै भेरीमा
खिया परेका तिम्रा सामाजिक कुसंरचनाका
भुत्ते गिदीहरू फुटाएर
भाग लाइदेऊ दोबाटोमा
तिम्रा शरीरमाझैँ बग्ने रातो रगत भएका
भोका कुकुर र गिद्धहरूलाई हुनेछ आहारा ।
कुहिएको तिम्रो उच्च जातको अहमतालाई
भोर्लाका पातमा राखेर
खुवाओ सिनो कोरोनाको त्रासमा जनता मारिरहेको
तिम्रो उच्च जातको सरकारलाई ।

भो नबस अब यो गाउँमा
यहाँका हरेक चौतारीमा बसेर छोएको छ उसले
नहिँड बाटो 
जहाँ हजारपल्ट छाडेको छ
पाइतालाका छाप उसले
नथाप पँधेरामा पानी
जहाँ सयौँपल्ट मुख गाडेर पिएको छ उसले
नछोऊ वर पीपल र नटिप
कुहिएको मगज चोख्याउने पात
जहाँ बसेर हम्किएको थ्यो
उसले तिम्री छोरीलाई शितलता
जलाओ आफ्ना सबै घर खरानी पारेर
अनि बगाऊ उसलाई जसरी नै भेरीमा
ताप बालेर आगो खप्परमा गिर्खा भर्ने धर्मका ठेली
फेरिफेरि मारिनु नपरोस् मानव प्रेमहरू ।

भन कति जनाले छोएका थ्यौ उसलाई ?
र कति पुगेका थ्यौ उसका घरमा
भुत्ते फलाम बोकेर ?
कति पटक चुसेका थ्यौ उसको श्रमको पसिना
धारिला हतियारको पाइनमा देख्यौ कि देखेनौ
पसिना र रगतको रङ ?
कसरी पवित्र भएर सजियो
उसका पाखुरा पोलेर बनेको खुकुरी तिम्रा कम्मरमा ?
र किन छुन्छौ उसले अर्जापेका गैँती कुटे र कोदाला
किन काटेर ल्याउँछौ उसका सिपले
शरीर चोख्याउन चन्दन र श्रीखण्डका हाँगा
छिछिछि!छि!
निधाराँ चन्दन घसेर आहाल बस्ने गुहु हो !
अब बाँच्ने अधिकार पनि छैन
छ वटा नवराजहरू बग्दैमा
बन्द हुने छैन आरन
चलिरहनेछ खलाँती
र बन्नेछन् कुसंस्कारका तरबार र खुकुरी
जातीय अहङ्कारका शिर छेदन गर्न ।

मानव जातको धर्ममा तिमीहरूलाई
छाड अब यो गाउँ ।
र यहाँ निषेध छ तिमेरलाई
एक चपरी माटो कोट्याएर चिहान खन्न
र छुन प्रतिबन्ध छ भेरी
गिदी पतन भएका जिउँदा लास हो !
त्याँ मानव प्रेम बगाएका छौ तिमेरले
निस्किहाल सामूहिक बसाइँ
कालो रगत छादेर
निषेध छ मसान हो
तिमेरलाई यो पृथ्वीमा चिहान हुन
जाओ सेता देशमा सफेद रङ खोज्न
भरखर मात्रै मारिँदैछन् त्यहाँ
नवराजजस्तै जर्ज फलोयडहरू ।
यत्ति चाहिँ विचार गर्नू
कुसंस्कारका दास हो !
भोलि 
तिम्रा उच्च जातका छोरीहरू
कस्तो रङ
कस्तो जात
र कुन रङको रगत भएकाहरूसँग जान्छन् या दिन्छौ
नवराजको जस्तै या खप्परमा कालो रगत बग्नेसँग ??

(प्रस्तुत कविता सुस्मा ठकुरीको प्रेमी नवराज विक र उसँगै मारिएकाहरूसँग सम्बन्धित छ ।)
२०७७/०२/१६
आठराई २ तेह्रथुम

ताजा अपडेट

खोजी गर्नुहोस